शीर्षकहरू

आजदेखि शुक्रबार पनि शेयर बजार खुल्ने, आइतबार बन्द -यो साता ६ दिन कारोबार

आजदेखि शुक्रबार पनि शेयर बजार खुल्ने, आइतबार बन्द -यो साता ६ दिन कारोबार

काठमाडौं । सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार तालिका परिवर्तन गरिएको छ। अब आइतबारको सट्टा शुक्रबार शेयर बजार खुल्ने भएको छ।

नेप्से सञ्चालक समितिको चैत २२ गते बसेको बैठकले सोमबारदेखि शुक्रबारसम्म नियमित कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो। सो व्यवस्था चैत २७ गतेदेखि लागू हुने जनाइएको छ। यससँगै नेपाली शेयर बजारमा शुक्रबार पनि नियमित कारोबार हुने भएको हो।

यसअघि बजार आइतबारदेखि बिहीबारसम्म मात्र सञ्चालन हुँदै आएको थियो। तर सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले चैत २३ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि आफ्नो कारोबार तालिका परिमार्जन गरेको हो।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आइतबार सार्वजनिक बिदा परेकाले त्यसको सट्टामा शुक्रबार बजार खुला गरिएको हो। यस हप्तामा विशेष रूपमा शुक्रबार पनि कारोबार सञ्चालन हुनेछ, जसका कारण यो साता कुल ६ दिन बजार खुला रहनेछ।

आगामी हप्तादेखि भने नियमित रूपमा सोमबारदेखि शुक्रबारसम्म मात्रै कारोबार हुनेछ। नयाँ व्यवस्थाअनुसार अब आइतबार नेप्से कार्यालय तथा शेयर कारोबार पूर्ण रूपमा बन्द रहनेछ भने शुक्रबार पूर्ण समयका लागि कारोबार सञ्चालन गरिनेछ।

यसअघि २०७९ सालमा पनि यस्तै निर्णय हुँदा नेप्सेले अस्थायी रूपमा तालिका परिवर्तन गरेको थियो, तर पछि पुरानै प्रणालीमा फर्किएको थियो।

प्रतिक्रिया