शीर्षकहरू

तरलता व्यवस्थापनमा राष्ट्र बैंकको सक्रियता, ५ दिनका लागि १ खर्ब २५ अर्ब निक्षेप खिच्दै

तरलता व्यवस्थापनमा राष्ट्र बैंकको सक्रियता, ५ दिनका लागि १ खर्ब २५ अर्ब निक्षेप खिच्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणालीबाट उक्त रकम खिच्न लागेको हो। पछिल्लो समय आर्थिक गतिविधि सुस्त रहनुका साथै कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमै रहेको छ।

बैंकहरूले पनि कर्जा माग कमजोर रहेपछि मुद्दती निक्षेपमा रुचि घटाउँदै ब्याजदर घटाइरहेका छन्। हाल कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेको राष्ट्र बैंकको तथ्यांक छ।

निक्षेप संकलन प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिनेछ। बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ भने न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ।

खुला बजार कारोबारसम्बन्धी व्यवस्थाअनुसार दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा केन्द्रीय बैंकले अधिकतम ६ महिनासम्मका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्ला दिनहरूमा निरन्तर तरलता व्यवस्थापनका उपायहरू अवलम्बन गर्दै आएको छ।

प्रतिक्रिया