शीर्षकहरू

विश्व अर्थतन्त्रमा जोखिम बढ्दो, समन्वयात्मक कदम आवश्यक : आईएमएफ

विश्व अर्थतन्त्रमा जोखिम बढ्दो, समन्वयात्मक कदम आवश्यक : आईएमएफ

न्युयोर्क। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा जोखिम बढ्दै गएको भन्दै देशहरूलाई समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गरेको छ।

आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभा ले सन् २०२६ को वसन्त बैठकको उद्घाटनमा बोल्दै एकल निर्णय, निर्यात नियन्त्रण वा मूल्य नियन्त्रणजस्ता कदमले विश्व अर्थतन्त्रलाई अझ अस्थिर बनाउन सक्ने चेतावनी दिइन ।

उनले प्रत्येक देशका सरकार तथा वित्तीय निकायहरूले कमजोर वर्गलाई लक्षित गरी सीमित र अस्थायी सहयोग कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन ।यस्ता कार्यक्रम मध्यम अवधिको आर्थिक योजनासँग मेल खाने हुनुपर्ने उनको भनाइ छ।

जर्जिएभाले केन्द्रीय बैंकहरूलाई पनि सचेत रहन आग्रह गर्दै मुद्रास्फीति बढ्ने संकेत देखिएमा ब्याजदर समायोजनमार्फत नियन्त्रण गर्नुपर्ने उल्लेख गरिन् । यसले मूल्यवृद्धिको दबाब घटाउन सहयोग पुग्ने उनले बताइन् ।

त्यसैगरी, वित्तीय नियामक निकायहरूलाई लचिलो र छिटो प्रतिक्रिया दिनसक्ने बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले वर्तमान विश्व आर्थिक अवस्था अत्यन्त परिवर्तनशील रहेको बताइन् ।

आईएमएफले सदस्य राष्ट्रहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै मध्यपूर्व द्वन्द्वका कारण छोटो अवधिमा भुक्तानी सन्तुलनका लागि २० अर्बदेखि ५० अर्ब डलरसम्मको सहयोग आवश्यक पर्न सक्ने अनुमान पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया