शीर्षकहरू

नेप्सेमा उतारचढावपछि सामान्य अंक घट्दै बन्द, समूहगत सूचकमा मिश्रित प्रदर्शन

नेप्सेमा उतारचढावपछि सामान्य अंक घट्दै बन्द, समूहगत सूचकमा मिश्रित प्रदर्शन

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंक घट्दै बन्द भएको छ। पछिल्ला दुई दिन लगातार बढेको बजार शुक्रबार भने ओरालो लागेको हो।

यस दिन नेप्से परिसूचक १३.४६ अंक घटेर २८३७.७७ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ३.३९ अंक घट्दा फ्लोट इन्डेक्स पनि सामान्य रूपमा घटेको छ।

उपसमूहगत सूचकमा मिश्रित अवस्था देखिएको छ। १३ मध्ये २ उपसमूह बढ्दा ११ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशतले उकालो लागेको छ भने जलविद्युत समूहमा सामान्य सुधार देखिएको छ। लगानी, अन्य र व्यापार समूह भने १ प्रतिशतभन्दा बढीले घटेका छन्।

कारोबार रकम पनि घटेको छ। बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको बजारमा शुक्रबार ८ अर्ब ९९ करोड रुपैयाँमा सीमित भयो। कुल ३३५ स्टकको २ करोड १० लाखभन्दा बढी कित्ता शेयर ९७ हजारभन्दा बढी पटक कारोबार भएको छ।

यस दिनको बजारमा केही स्टकमा तीव्र वृद्धि देखिएको छ। भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्ट सकारात्मक सर्किट लेभलमा पुगेका छन्। पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट हालै कारोबारमा आएका नयाँ कम्पनी हुन्।

व्यक्तिगत स्टकतर्फ रिलायन्स स्पिनिङ मिल्सको मूल्य करिब साढे ९ प्रतिशतले बढ्दा हिमालयन हाइड्रोपावर पनि साढे ८ प्रतिशतले उकालो लागेको छ। यसैबीच एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई मूल्य भने ४ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको कारोबार ५१ करोड रुपैयाँभन्दा बढी पुगेको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स र रिडी पावर डेभलपमेन्ट उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्।

समग्रम साप्ताहिक अन्तिम दिनको कारोबारले बजारमा नाफा बुकिङको दबाब र सीमित समूहगत सुधार दुवै देखाएको विश्लेषकहरू बताउँछन्।

null

प्रतिक्रिया