काठमाडौं। युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम थप गम्भीर बन्दै गएको देखाएको छ।
प्रतिवेदनअनुसार मार्च महिनामा महासागरको सतहको तापक्रम झण्डै रेकर्ड स्तरमा पुगेको छ, जसले आगामी दिनमा विश्वव्यापी तापक्रम अझ बढ्ने र चरम मौसमी घटनाहरू तीव्र बन्न सक्ने संकेत गरेको छ।
उक्त महिनामा समुद्री सतहको औसत तापक्रम करिब २०.९७ डिग्री सेल्सियस पुगेको थियो, जुन मार्च महिनाका लागि दोस्रो उच्च मापन हो। विज्ञहरूले यसलाई प्रशान्त महासागरमा देखिने तातो चक्रसँग जोड्दै यसले विश्वव्यापी जलवायु प्रणालीलाई असन्तुलित बनाउन सक्ने बताएका छन्।
वैज्ञानिकहरूका अनुसार महासागरले मानव गतिविधिबाट उत्सर्जित अतिरिक्त तापको ठूलो हिस्सा सोस्ने भएकाले यसको तापक्रम वृद्धि दीर्घकालीन जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। प्राकृतिक रूपमा हुने तातो–चिसो चक्रहरू मानवजन्य तापक्रम वृद्धिसँग मिसिँदा असर झनै गम्भीर बन्ने उनीहरूको भनाइ छ।
समुद्रको तापक्रम बढ्दा शक्तिशाली आँधी, भारी वर्षा, र समुद्री सतह वृद्धि जस्ता जोखिम बढ्ने चेतावनी दिइएको छ। यसले दीर्घकालीन रूपमा तटीय क्षेत्रहरूमा बाढी तथा विस्थापनको जोखिम पनि बढाउन सक्ने उल्लेख छ।
प्रतिवेदनअनुसार मार्च महिना विश्वकै चौथो सबैभन्दा तातो महिना रहेको थियो। उक्त अवधिमा तापक्रम औद्योगिक युगपूर्वको स्तरभन्दा करिब १.४८ डिग्री सेल्सियसले बढी मापन गरिएको थियो।
युरोपका धेरै भागमा असामान्य रूपमा उच्च तापक्रम देखिएको थियो भने उत्तर अमेरिका, आर्कटिक र अन्य चिसा क्षेत्रहरूमा पनि सामान्यभन्दा बढी तापक्रम रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच आर्कटिक क्षेत्रमा समुद्री बरफको मात्रा मार्च महिनाका लागि हालसम्मकै न्यून स्तरमा पुगेको पाइएको छ, जसलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनको थप स्पष्ट संकेतका रूपमा लिएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया