शीर्षकहरू

पाकिस्तानमा अमेरिका-इरान वार्ता सुरु, शान्तिको सम्भावनामा चासो

पाकिस्तानमा अमेरिका-इरान वार्ता सुरु, शान्तिको सम्भावनामा चासो

काठमाडौं । मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुँदैछ । करिब एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष प्रत्यक्ष संवादमा बस्न लागेका हुन् । यसलाई दीर्घकालीन शान्तितर्फको प्रारम्भिक पहलका रूपमा हेरिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामाबाद पुगेको छ । इरानी पक्षबाट संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफ नेतृत्वको टोली यसअघि नै त्यहाँ पुगिसकेको छ । कालिबाफले लेबनानमा इजरायलसँगको युद्धविराम सुनिश्चित भएमा मात्र अवरुद्ध इरानी सम्पत्तिको रिहाइबारे छलफल अघि बढ्ने संकेत दिएका छन् ।

तर वार्ता सुरु हुनुअघि नै चुनौतीहरू देखिएका छन् । दक्षिणी लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी झडप र इरानका पूर्वसर्तहरूले पाकिस्तानको मध्यस्थतामा भएको युद्धविरामलाई कमजोर पार्ने जोखिम बढाएको छ ।

वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका मुख्य सडकहरू बन्द गरिएका छन् । सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरिएको छ, जसका कारण सहरमा कफ्र्यूजस्तो अवस्था देखिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले द्वन्द्व ‘कठिन चरण’ मा पुगेको उल्लेख गर्दै अस्थायी युद्धविरामलाई स्थायी समाधानमा रूपान्तरण गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।

वासिङ्टनबाट प्रस्थानअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सैन्य रूपमा कमजोर अवस्थामा रहेको टिप्पणी गर्दै वार्ता सफल हुने अपेक्षा व्यक्त गरेका थिए । भान्सले पनि वार्ता सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे पनि आवश्यक परे कडा अडान लिइने बताएका छन् ।

यसैबीच, इजरायल र लेबनानबीच पनि प्रत्यक्ष वार्ताको तयारी भइरहेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनको कार्यालयका अनुसार यस्तो वार्ता वासिङ्टनमा हुन सक्नेछ । बेरुतले इजरायलसँग संवाद गर्न तयारी देखाए पनि त्यसलाई इरानसँग जस्तै युद्धविरामको ढाँचामा अघि बढाउन चाहेको छ ।

तर इजरायलले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही नरोक्ने अडान लिँदा सहमति प्रक्रिया जटिल बनेको छ । इरानको समर्थनमा युद्धमा सहभागी हिजबुल्लाहसँगको द्वन्द्वमा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानले जनाएको छ, जुन हालको द्वन्द्वकै सबैभन्दा ठूलो क्षति हो ।

त्यसयता पनि आक्रमणहरू रोकिएका छैनन् । दक्षिणी सहर नबातीहमा भएको इजरायली आक्रमणमा १३ सुरक्षा अधिकारी मारिएको लेबनानी पक्षले जनाएको छ । इजरायलले भने आफ्नातर्फ प्रहार गरिएका रकेट प्रक्षेपणस्थललाई लक्षित गरेको दाबी गरेको छ ।

यस द्वन्द्वको अर्को महत्त्वपूर्ण पक्ष स्ट्रेट अफ होर्मुज बनेको छ । इरानले यो जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ । तेलको मूल्य बढेको छ भने विश्व अर्थतन्त्रमा थप दबाब परेको छ । युद्धअघि दैनिक १०० भन्दा बढी जहाज आवतजावत गर्ने मार्ग अहिले अत्यन्तै सीमित भएको छ ।

ट्रम्पले इरानसँग वार्तामा विकल्प सीमित रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय जलमार्गलाई दबाबको साधन बनाइएको टिप्पणी गरेका छन् । उनका अनुसार वार्तामा सहभागी हुनु नै इरानका लागि प्रमुख विकल्प बनेको छ ।

पाकिस्तानमा सुरु भएको यो वार्ताले केवल अस्थायी युद्धविरामलाई निरन्तरता दिने मात्र होइन, क्षेत्रीय स्थायित्वतर्फ मार्ग खोल्न सक्छ कि सक्दैन भन्ने चासो अन्तर्राष्ट्रिय समुदायमा बढ्दो छ ।

प्रतिक्रिया