शीर्षकहरू

इस्लामाबाद वार्ता निष्कर्षविहीन: इरान अमेरिकी सर्त मान्न तयार नभएको भान्सको भनाइ

इस्लामाबाद वार्ता निष्कर्षविहीन: इरान अमेरिकी सर्त मान्न तयार नभएको भान्सको भनाइ

काठमाडौं। अमेरिका र इरानबीच इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन रूपमा टुंगिएको छ। लामो समयसम्म चलेको वार्तापछि कुनै सहमति नजुटेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।

शनिबार दिउँसोदेखि सुरु भई आइतबार बिहान करिब ५ बजेसम्म जारी वार्तापछि होटल सेरेनामा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा उनले अहिलेसम्म कुनै ठोस समझदारी नबनेको जानकारी दिए। “दुःखद कुरा के छ भने हामी अझैसम्म सम्झौतामा पुग्न सकेका छैनौं,” उनले भने।

वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भान्सले इरानले अमेरिकी प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको उल्लेख गरे। “उनीहरू हाम्रो सर्तहरू मान्न तयार देखिएनन्,” उनले स्पष्ट पारे।

उनका अनुसार वार्ताका सबै सर्तहरू तत्काल सार्वजनिक गरिने छैनन्। तर अमेरिकाको प्रमुख चासो इरानको आणविक कार्यक्रम रहेको उनले संकेत गरे। “हामीलाई तेहरानबाट स्पष्ट र भरपर्दो प्रतिबद्धता चाहिन्छ—इरानले परमाणु हतियार वा त्यससम्बन्धी प्रविधि विकास नगर्ने सुनिश्चितता,” उनले भने।

अमेरिकाले लामो समयदेखि इरानको आणविक गतिविधिलाई लिएर कडा अडान लिँदै आएको छ। पछिल्लो वार्तामा पनि वासिङ्टनको प्राथमिकता यही विषय रहेको भान्सको भनाइबाट प्रस्ट हुन्छ।

पत्रकार सम्मेलनपछि आगामी रणनीति र सम्भावित कूटनीतिक पहलका बारेमा भने उनले कुनै स्पष्ट धारणा सार्वजनिक गरेनन्। विशेषगरी स्ट्रेट अफ हर्मुजको सुरक्षा अवस्था तथा सम्भावित युद्धको दिशाबारे सोधिएका प्रश्नहरूमा उनी मौन रहे।

यसैबीच, अमेरिकी अखबार द न्युयोर्क टाइम्सले वार्ताबाट तत्काल समाधान ननिस्किँदा हाल कायम अस्थायी युद्धविरामको भविष्य अन्योलमा परेको जनाएको छ। वार्ता असफल भएपछि क्षेत्रीय तनाव पुनः बढ्न सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया