शीर्षकहरू

खेतीको संवेदनशील समयमा मल अभाव चुलियो, किसान महासंघद्धारा सरकारको ध्यानाकर्षण

खेतीको संवेदनशील समयमा मल अभाव चुलियो, किसान महासंघद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । धान, मकै र कोदो रोपाइँको तयारीसँगै खेतीको अत्यन्त संवेदनशील समयमा देशभर रासायनिक मलको चरम अभाव देखिएको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघले जारी गरेको वक्तव्यमा धानको बिउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारी खेती गर्ने समयमा मल अभाव हुँदा किसानहरू प्रत्यक्ष मारमा परेको उल्लेख छ । किसानहरू मलका लागि लाइन बस्न बाध्य भएको र कालोबजारीबाट महँगो मूल्यमा खरिद गर्नुपरेको अवस्थालाई ‘दुर्भाग्यपूर्ण’ भनिएको छ ।

नेपालको करिब दुईतिहाइ जनसंख्या कृषि क्षेत्रमा निर्भर रहेको र कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा एक चौथाइभन्दा बढी योगदान गर्ने महासंघले स्मरण गराएको छ । धानबालीले मात्र कुल गार्हस्थ उत्पादनको करिब ५ प्रतिशत र कुल अन्न उत्पादनको आधा हिस्सा ओगट्ने उल्लेख गर्दै यस्तो अवस्थामा मल अभावले खाद्य सुरक्षा र अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ ।

महासंघले तत्काल मल आपूर्ति सहज बनाउन, कालोबजारी नियन्त्रण गर्न र दीर्घकालीन रूपमा मल समस्या समाधान गर्ने ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ । साथै उपलब्ध मल साना तथा उत्पादनशील किसानलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा वितरण गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया