शीर्षकहरू

माउन्ट एभरेष्ट डिष्टिलरीको आईपीओ प्रस्ताव, वैशाख २० मा साधारणसभा

माउन्ट एभरेष्ट डिष्टिलरीको आईपीओ प्रस्ताव, वैशाख २० मा साधारणसभा

काठमाडौं। माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न वैशाख २० गते वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यससम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने तयारी गरिएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत टुंग्याउनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि यसअघि नै १२ लाख ५० हजार कित्ता शेयर जारी गर्ने तयारीसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

वि.सं. २०६५ मा स्थापना भएको कम्पनीले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इएनए स्पिरिट तथा डिस्टिलर्स वेट ग्रेन सोल्युबल उत्पादन गर्दै आएको छ । यसको कर्पोरेट कार्यालय काठमाडौंमा रहेको छ भने उत्पादन केन्द्र रुपन्देहीको तिलोत्तमा–१४ टिकुलीगढमा सञ्चालनमा छ ।

हाल कम्पनीको स्पिरिट उत्पादन क्षमता प्रतिदिन १० किलोलीटर र बोतल बन्द गर्ने क्षमता दैनिक ३ हजार केस रहेको छ । कम्पनीले ७० युभी र ५० युपी ब्रान्डअन्तर्गत उत्पादन बजारमा बिक्री गर्दै आएको छ ।

आगामी दिनमा प्रिमियम श्रेणीका २५ युपी, ३० युपी र ४० युपी मदिरा ब्रान्ड सार्वजनिक गर्ने योजना कम्पनीले अघि सारेको छ ।

प्रतिक्रिया