काठमाडौं। पाकिस्तानको इस्लामाबादमा भएको अमेरिका–इरान उच्चस्तरीय वार्ता कुनै सहमति बिना टुंगिएको छ । वार्ता निष्कर्षविहीन बनेसँगै क्षेत्रीय तनाव फेरि चर्किने संकेत देखिएको छ ।
पाकिस्तानले दुवै पक्षलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ । विदेशमन्त्री इशाक दार ले शान्तिपूर्ण समाधानको सम्भावना अझै बाँकी रहेको भन्दै सकारात्मक रूपमा वार्ता अघि बढाउनुपर्ने बताएका छन् ।
‘इस्लामाबाद वार्ता’का रूपमा चिनिएको उक्त छलफलमा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स ले गरेका थिए भने इरानी पक्षको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफ ले गरेका थिए ।
करिब २४ घण्टा लामो छलफलमा इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्य को नियन्त्रणजस्ता विषयमा मतभेद कायमै रहेपछि सहमति जुट्न सकेन ।
वार्तापछि अमेरिकी टोली फर्किएको छ। उपराष्ट्रपति भान्सले केही विषयमा प्रगति भए पनि औपचारिक सहमति हुन नसकेको बताएका छन् ।
यस घटनाले कूटनीतिक प्रयास जारी रहे पनि आपसी अविश्वासका कारण तत्काल समाधान कठिन देखिएको संकेत गरेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया