काठमाडौं। नेपालमा बाल स्वास्थ्य सेवा सुधार र विस्तारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) बीच सहकार्य सम्झौता भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो। सम्झौतामा केआईओसीएचका अध्यक्ष प्रा. डा. भगवान कोइराला र एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा सहभागी थिए।
सम्झौताअनुसार एनआरएनएले विश्वभर रहेका नेपाली डायस्पोरालाई केआईओसीएचसँग जोड्दै चिकित्सकीय ज्ञान, सीप र प्रविधिको आदान–प्रदानमा सहजीकरण गर्नेछ। यसमार्फत बालबालिकाको उपचार सेवा थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
त्यस्तै, बाल स्वास्थ्य सेवाका लागि आवश्यक उपकरण, सर्जिकल सामग्री तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको उपचारमा विशेष सहयोग गर्ने सहमति भएको छ।
दुवै संस्थाबीच सहकार्यमा विभिन्न स्वास्थ्य कार्यक्रम, क्षमता अभिवृद्धि तालिम तथा विशेषज्ञ आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको जनाइएको छ।
यस सहकार्यले नेपालमा बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार तथा आधुनिक उपचार प्रणाली विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

आर्थिकन्यूज
प्रतिक्रिया