काठमाडौं। अमेरिका र इरानबीचको कूटनीतिक वार्ता निष्कर्षविहीन बनेसँगै खाडी क्षेत्रको तनाव थप चर्किएको छ । वार्ता असफलतासँगै सैन्य गतिविधि, ऊर्जा बजारको उतारचढाव र क्षेत्रीय द्वन्द्व एकसाथ तीव्र बन्दै जाँदा व्यापक अस्थिरताको संकेत देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी रणनीतिमा कुनै परिवर्तन नआउने स्पष्ट पारेका छन्। मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वार्ताबाट अपेक्षित परिणाम ननिस्किए पनि अमेरिका आफ्नै मार्गमा अघि बढ्ने बताएका हुन् ।
यसैबीच, पाकिस्तानमा भएको पछिल्लो उच्चस्तरीय वार्ता बिना सहमति टुंगिएपछि कूटनीतिक प्रयास कमजोर बनेको देखिएको छ । तनाव थप बढाउने गरी अमेरिकी सेनाले इरानी खाडी क्षेत्रका केही बन्दरगाहमा निगरानी तथा नियन्त्रण कडा पार्ने घोषणा गरेको छ। होर्मुज जलडमरूमध्य आसपासका गतिविधिमा निगरानी बढाइए पनि अन्य देशका जहाजको आवागमन अवरुद्ध नगर्ने अमेरिकी पक्षको भनाइ छ ।
रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने उक्त जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने भएकाले त्यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । पछिल्ला दिनमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढ्नु यसको संकेत मानिएको छ ।
इरानले भने अमेरिकी कदमप्रति कडा आपत्ति जनाएको छ। इरानी रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण कायम रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ दिन तयार रहेको चेतावनी दिएको छ । इरानी सैन्य नेतृत्वले अमेरिकी कदमलाई ‘अस्वीकार्य’ र ‘उत्तेजक’ भनेको छ ।
इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले देश कुनै दबाबमा नझुक्ने स्पष्ट पार्दै आवश्यक परे प्रतिकार गर्ने बताएका छन् । विदेशमन्त्री अब्बास अराघचीले भने वार्ता सहमतिनजिक पुगेको अवस्थामा अन्तिम क्षणमा अमेरिकाले अडान बदलेको आरोप लगाएका छन् ।
क्षेत्रीय स्तरमा पनि द्वन्द्व शान्त हुने संकेत कमजोर देखिएको छ । लेबनान–इजरायल तनाव कायमै रहँदा दुवै पक्षबीच छिटफुट आक्रमण जारी छन् । लेबनान सरकारले युद्ध अन्त्यका लागि पहल जारी राखेको जनाए पनि इजरायलले आफ्नो सैन्य कारबाही नरोक्ने संकेत दिएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनले दक्षिण लेबनानमा आफ्ना सवारी साधनमाथि आक्रमण भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय चिन्ता बढेको जनाएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म हजारौँ मानिस प्रभावित भइसकेका छन् ।
समग्रमा अमेरिका–इरानबीच संवाद विफल भएपछि खाडी क्षेत्रमा शक्ति सन्तुलन थप नाजुक बन्दै गएको छ । कूटनीतिक पहल जारी रहे पनि बढ्दो अविश्वास र सैन्य तयारीले तत्काल शान्ति सम्भावना कमजोर देखिएको विश्लेषण गरिएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया