काठमाडौं । वर्ष २०८२ मा नेपाली बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक रूपमा उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक वर्षको अवधिमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँले बढेको छ भने चाँदी पनि २ हजार ९४० रुपैयाँले महँगिएको छ ।
०८१ चैत ३१ मा प्रतितोला १ लाख ८६ हजार रहेको सुन ०८२ चैत ३० मा आइपुग्दा २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस आधारमा वर्षभरि दैनिक औसत ३०३ रुपैयाँभन्दा बढी दरले मूल्य वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष सुन तोलामा ४७ हजार रुपैयाँले मात्र बढेको थियो भने चाँदीमा वृद्धि निकै न्यून (२१० रुपैयाँ) थियो ।
महिनागत रूपमा हेर्दा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । वर्षको सुरुआती महिना वैशाखमा ७ सय रुपैयाँले सामान्य वृद्धि भई १ लाख ८५ हजार ३०० पुगेको सुन जेठमा भने ह्वात्तै ११ हजार ८०० रुपैयाँले बढेर १ लाख ९७ हजार १०० रुपैयाँ पुगेको थियो । असारमा केही सुधार देखिँदै मूल्य ५ हजार १०० रुपैयाँले घटेर १ लाख ९२ हजारमा झरेको थियो ।
साउनमा पुनः वृद्धि भई १ लाख ९६ हजार २०० पुगेको सुन भदौदेखि भने तीव्र उकालो लाग्न थाल्यो । भदौमा मात्रै २० हजार ९०० रुपैयाँले बढेर मूल्य २ लाख १७ हजार १०० पुगेको थियो । त्यसपछि असोजमा चाडपर्वको मागसँगै थप ४० हजार ९०० रुपैयाँले वृद्धि भई २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
कात्तिक र मंसिरमा भने केही गिरावट देखियो । कात्तिकमा १५ हजार २०० रुपैयाँले घटेर २ लाख ४२ हजार ८०० मा झरेको सुन मंसिरमा पुनः घटबढबीच २ लाख ६० हजार ७०० रुपैयाँसम्म आइपुगेको थियो । पुसमा फेरि सुधार भई २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो ।
माघदेखि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्न थाल्यो । सो महिनामा मात्रै २८ हजार ५०० रुपैयाँले वृद्धि भई पहिलोपटक तीन लाख नाघेर ३ लाख ६ हजार ५०० रुपैयाँ पुगेको थियो । फागुनमा पनि वृद्धि जारी रहँदै ३ लाख १४ हजार २०० रुपैयाँसम्म पुगेको थियो । तर, वर्षको अन्तिम महिना चैतमा भने १७ हजारभन्दा बढीले घटेर २ लाख ९६ हजार ७०० रुपैयाँमा सीमित भएको छ ।
चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ । ०८१ चैत अन्तिम दिन प्रतितोला १ हजार ९६० रुपैयाँ रहेको चाँदी ०८२ चैत ३० मा ४ हजार ९०० रुपैयाँ पुगेको छ । यसरी एक वर्षमा चाँदी प्रतितोला २ हजार ९४० रुपैयाँले महँगिएको हो ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, डलरको उतारचढाव, भू–राजनीतिक तनाव तथा सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षण बढ्नुले मूल्य उकालो लागेको हो । साथै, चाडपर्व र विवाह सिजनमा बढ्ने आन्तरिक मागले पनि मूल्य वृद्धि थप तीव्र बनाएको देखिन्छ।
समग्रमा वर्ष २०८२ सुनचाँदी बजारका लागि अत्यधिक उतारचढाव र ऐतिहासिक मूल्यवृद्धिको वर्षका रूपमा दर्ज भएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया