काठमाडौं। नेपाल राष्ट्र बैंकले रियल इस्टेट (घरजग्गा) कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार पारिएको यो तथ्यांकले देशभरको घरजग्गा कारोबारको अवस्था, प्रवृत्ति र क्षेत्रगत वितरणको विस्तृत चित्र प्रस्तुत गरेको छ ।
राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको संकेत गरेको छ । वर्षको पहिलो त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको छ ।
प्रदेशगत रूपमा कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ । त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम कारोबार भएको देखिएको छ । त्यस्तै, कारोबार भएको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा सबैभन्दा बढी रहेको छ ।
जग्गाको क्षेत्रफलअनुसार कारोबारको विश्लेषण गर्दा मधेश बाहेक अधिकांश प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका कित्तामा बढी कारोबार भएको देखिएको छ । तर मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला कित्तामा बढी कारोबार हुने गरेको तथ्यांकले देखाएको छ । मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उपमहानगर क्षेत्रमा ५ देखि १० आना क्षेत्रफलका जग्गामा सबैभन्दा बढी कारोबार भएको पाइएको छ ।
घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
यसैगरी, घरजग्गा कारोबारबाट प्राप्त हुने सरकारी राजस्वमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८ अर्ब २० करोड रुपैयाँमा झरेको थियो । पछिल्ला वर्षहरूमा भने क्रमशः सुधार हुँदै आर्थिक वर्ष २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ ।
राष्ट्र बैंकका अनुसार भूमि व्यवस्था, आन्तरिक राजस्व विभाग लगायतका निकायबाट संकलित तथ्यांकका आधारमा रियल इस्टेट कारोबारसम्बन्धी विवरण त्रैमासिक रूपमा सार्वजनिक गरिनेछ । यसमा कारोबार संख्या, घोषित मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाजस्ता सूचकका आधारमा विश्लेषण गरिएको छ ।
राष्ट्र बैंकले यस्तो तथ्यांकले रियल इस्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास लिएको छ । साथै, यसकै आधारमा आगामी चरणमा घरजग्गा मूल्य सूचकांक निर्माण र प्रकाशन गर्ने तयारी पनि अघि बढाइएको जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया