काठमाडौँ । ‘बडाले जो गर्यो काम हुन्छ त्यो सर्व–संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित !’ कवि शिरोमणि लेखनाथ पौडेलले शायद यी हरफ लेख्दा नेपाली समाजमा नैतिकता स्थापित गर्न सहयोग मिलोस् भन्ने ठानेका थिए होलान् ।
तर, नेपालको आर्थिक तथा राजनीतिक क्षेत्रका ‘बडा’ विनोद चौधरीको समूहले आफूलाई भगवान नै ठानेकोले होला निशंकोच ‘नाङ्गो नाच’ गरिरहेको उनका साझेदारहरूको आरोप छ ।
प्रसङ्ग उही सम्राट सिमेन्टको हो । जसबारे आर्थिकन्यूज डटकमले अस्ति शुक्रबार ‘सिध्याउँदै छ चौधरी समूहले आफ्नै पार्टनरलाई’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
गएको असार महिनादेखि बन्द यो सिमेन्ट उत्पादक कम्पनीमार्फत चौधरी समूहले आफ्ना साझेदार मात्र होइन, नेपालका १० वटा बाणिज्य बैंक नै समेत डुबाउने खेल शुरु गरेको थप सूचना प्राप्त भएको छ । उसको यो योजनामा साथ भने अर्का साझेदार अनिल रुङ्गटा समूहले दिएको बुझिएको छ ।
मसी नसुक्दै सम्झौता अमान्य
यो प्रकरणमा पीडित साझेदारहरूका अनुसार गएको असार १३ गते कम्पनीमा पहाडिया मूलका व्यवसायीहरूको नाममा रहेको ४५ प्रतिशत शेयर चौधर र रुङ्गटा समूहले किन्ने सम्झौता भएको थियो। सो कम्पनीमा ऋण लगानीकर्ता बैंकहरूमध्ये प्रमुख भूमिकामा रहेको हिमालयन बैंकको रोहवरमा त्यस्तो सम्झौता भएको थियो ।
यसरी सम्झौता भएपछि सोही दिनदेखि शेयर बिक्री गर्न सहमत भई सम्झौता समेत गरेका ४५ प्रतिशत शेयरवालाहरू सबैले सो कम्पनीमा रहेको आफ्नो भूमिका समेत सोही दिनबाट त्याग गरे । लगत्तै उनीहरू सम्राट सिमेन्टको बोर्ड र व्यवस्थापन दुबैबाट बाहिरिए ।
स्वाभाविक रूपमा उनीहरूलाई त्यस उप्रान्त कुनै भूमिका दिइएन, न त उनीहरूले नै त्यसमा चासो राखे । त्यही दिनदेखि शेयर खरिद गर्न सहमति जनाएको अर्को पक्षले भने सिमेन्ट फ्याक्ट्री नै बन्द गर्यो ।
तर, ‘बेइमानको सामुन्ने भगवान नै हायलकायल’ भने झैँ भदौ महिनामामा रुङ्गटा–चौधरी पक्ष अर्थात् ५५ प्रतिशत शेयरवालाहरूले नयाँ किचलो निकाले । हिसाब मिलेन भनेर किचलो झिकेपछि फेरि त्यो लफडा मिलाउन लगानीकर्ता बैंकहरू हिमालयन बैंकको नेतृत्वमा छलफलमा बसे ।
हिमालयनका अतिरिक्त इन्भेस्टमेन्ट मेगा, ग्लोबल आइएमइ, सिटिजन्स, माछापुच्छ्रे र लक्ष्मी सनराइज लगायत १० बैंकका प्रमुख कार्यकारी अधिकृतहरू बसेर कुरा मिलाउन खोज्दा पनि बेइमान पक्षले टेरेन । कुरा मिलेन ।
लगानीकर्ता १० बैंक चिन्तित
सो छलफलमा सहभागी एक बैंकका सीईओका अनुसार उनीहरूले त्यहाँ आफूहरूको जम्मा १३ सय करोड (१३ अर्ब रुपैयाँ) लगानी रहेको हुँदा लगानीकर्ता सबैलाई कालोसूचीमा राख्नेसम्मको धम्की दिएका थिए । तर, लफडा गर्ने पक्षमा मिलाउने र मिल्ने कुनै तदारुकता नै देखिएन । जसका कारण अहिले बैंकहरू ‘चौधरी समूहको नाम र प्रतिष्ठा हेरेर लगानी गरियो, तर नउठ्ने जोखिम बढ्यो’ भन्न थालेका छन् ।
रुङ्टा र चौधरी ग्रुपले शेयर हत्याउने प्रपञ्चको रूपमा सिमेन्ट फ्याक्ट्री बन्द गरेयता लगभग १ अर्ब रुपयाँ घाटा भइसकेको अन्य लगानीकर्ता बताउँछन् । जुन घाटा अब कसले ब्यहोर्ने भन्ने नयाँ ‘इस्यू’ फेरि पेचिलो बन्न थालेको उनीहरूको भनाई छ । यसरी कम्पनीको घाटा बढ्दै जाँदा र शेयरधनीहरू साझा निर्णयमा नपुग्दा लगानीकर्ता सबै बैंकमा चिन्ता बढेको छ ।
ठूला भनेका व्यापारी घरानाको यस्तो कर्मले लगानीकर्ता बैंकहरू भने समस्यामा परेका छन् । एक बैंकरले भने, ‘राजनीतिक, व्यवसायिक र सामाजिक रूपमा जति माथि पुगे पनि आखिर नैतिकता र इमानको चाहिं खडेरी नै रहेछ । व्यापारिक समूहहरूको दाउपेच र चालबाजीमा बैंक फस्छ कि भन्ने पीर भयो ।’
कमाउन्जेल भाँडो, अहिले भो घाँडो !
स्रोतका अनुसार दुई वर्षभन्दा केहीअघि चौधरी ग्रुपले मुकुन्द तिमिल्सिनासँग प्रतिकित्ता ४५० रुपैयाँमा यो कम्पनीको शेयर खरिद गरेको थियो ।
त्यसपछि पूर्ण रूपमा नाफामा रहेको दुई वर्ष सिजी ग्रुपले आफ्नै व्यवस्थापनमा कम्पनी चलायो । अहिले बन्द भएपछि भने सय करोड नोक्सान नै भैसकेको बताइन्छ ।
उता, अनिलकुमार रुङ्गटा भने सबै शेयरवालाले त्यो फ्याक्ट्रीको घाटा ब्यहोर्नुपर्ने तर्क गर्छन् । उनी अहिले आफ्नो शेयर कसैले किन्ने हो भने आधा मूल्यमा नै बेच्न तयार रहेको समेत बताउँछन् । उनको भनाइबाट नै प्रष्ट हुन्छ कि शेयर मूल्य घटाउन नै फ्याक्ट्री बन्द गरिएको थियो ।
कम्पनीबाट बाहिरिने निर्णयमा पुगेकामध्ये प्रमुख एक वासुदेव पाण्डे भने कम्पनीमा रहेको आफ्नो शेयर किन्ने भनेर अर्को पक्षले सम्झौता गरिसकेपछि त्यस यता कम्पनीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउँछन् । उनी भन्छन्, ‘यसको अर्थ त्यसको कुनै नाफा वा घाटा हामी जान्दैनौं । अब त्यो हाम्रो सरोकारको विषय होइन ।’
उनको आरोप छ, ‘शेयर खरिद गर्छु भन्ने समूहले सम्झौता गरिसकेपछि फ्याक्ट्री सञ्चालन नगर्ने र घाटा धेरै देखाएर हाम्रो शेयर हडप्न खोजेको हो । किनभने अहिलेको १ सय करोडको घाटामा दामासाहीले भाग लगाउँदा पनि रुङ्गटाको भागमा जम्मा २४ करोड रुपैयाँमात्र पर्छ । आफूले गराएको घाटा समेत हामीहरूबाटै असुल उपर गराउने योजनामा उनीहरू लागेको देखिन्छ ।’
आफ्ना अधिकांश बैंक खाताहरू समेत रुगांटा समूह र चौधरी समूहको पहलमा रोक्का राखिएको उनले बताए । पाण्डेले भने, ‘हाम्रो तर्फको ४५ प्रतिशत शेयर भएकाले बोक्नुपर्ने ऋणको ब्याज हामीले बैंकहरूलाई बुझाइरहेका नै छौँ । उनीहरूले फ्याक्ट्री सञ्चालनका लागि लिएको १३ अर्ब ऋणको ब्याज समेत तिरेका छैनन् ।’
उता लिड बैंक हिमालयन बैंकले भने फ्याक्ट्री समस्यामा परेको महसुस गरेर सबै साझेदार बैंकहरूलाई बोलाएर सहजीकरण गर्ने कोशिस गरेको बतायो । सो बैंकको उच्च व्यवस्थापकहरूका अनुसार हालसम्म त्यो विवाद निष्कर्षमा भने पुगेको छैन । उनीहरूले भने, ‘अझै पनि यसरी नै ढिला गर्ने र निष्कर्षमा नपुग्ने हो भने हामी आफ्नो प्रक्रियामा अघि बढ्छौं । त्यसको विकल्प छैन ।’