शीर्षकहरू

स्टार्टअप उद्यमलाई सहुलियतपूर्ण कर्जाका लागि खुल्यो आवेदन

स्टार्टअप उद्यमलाई सहुलियतपूर्ण कर्जाका लागि खुल्यो आवेदन

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नव प्रवर्धन (स्टार्टअप) उद्यम कर्जाको लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेको छ । शुक्रबार एक सूचना सार्वजनिक गर्दै परियोजनाले प्रस्ताव पेश गर्न भनेको हो ।

सरकारले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि ल्याएको छ । तर, आर्थिक वर्ष ०७६/७७ को बजेटदेखि निरन्तर स्टार्टअपलाई रकम दिने भने पनि अहिलेसम्म कार्यान्वयनमा भएको छैन । यस पटक स्टार्टअप उद्यम कर्जा कार्यविधि, २०८० तयार गरी सोही बमोजिम प्रस्ताव माग गरिएकोले कार्यान्वयन हुने आशा गर्न सकिन्छ । तथापि यस पटक पनि ‘ढाँटको निम्तो खाई पत्याउनु’ पर्ने अवस्था भने देखिएको छ ।

शुक्रबार जारी सूचनामा स्टार्टअप उद्यमका मापदण्डहरू पुरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यमीले यस्तो कर्जा लिन सक्ने उल्लेख गरिएको छ । यस्तो कर्जा लिन चाहनेले सूचना प्रकाशित भएको २१ दिन भित्र तोकिएको ढाँचामा प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । सो ढाँचा प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा राखिएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा सरकारले अनुदानमा यस्तो रकम उपलब्ध गराउने भन्दै निवेदन आह्वान गरेको थियो । तर, त्यसपछि आएको बजेटले रकम अनुदानमा नभई सहुलियत ब्याजदरमा दिने भनेपछि ६९९ वटा आवेदन उपयोगविहीन भएका थिए ।