शीर्षकहरू

रोशीबाट हेटौँडा जोडिएको सडक स्तरोन्नति गरिँदै

रोशीबाट हेटौँडा जोडिएको सडक स्तरोन्नति गरिँदै
फाइल फोटो ।

काभ्रेपलाञ्चोक। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बाग्मती प्रदेशको राजधानी हेटौँडा जोडिएको जनमुक्तिमार्गको स्तरोन्नतिको काम भइरहेको छ।

गौरवको आयोजनाका रुपमा हेरिएको यस सडकखण्डअन्तर्गत हाल कच्ची सडक स्तरोन्नति गर्दै पक्की बनाउने कामलाई तीव्रता दिइएको हो। छोटो दूरीका रुपमा रहेको उक्त मार्गको तीन चरणमा स्तरोन्नतिको काम अघि बढाएको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

बिपी राजमार्ग र हेटौँडा जोड्ने मदनभण्डारी राजमार्गसम्म जोड्न पहिलो चरणमा रोशी गाउँपालिकाको पिन्थली हुँदै रजबास–भूमिचूली–बुढाखानी–तीनखुट्टे १७ किलोमिटर सडक स्तरोन्नति तीव्र गतिमा अढि बढिरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजु श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बिपी राजमार्गलाई हेटौँडासम्म सडक सञ्जालमा जोड्नका लागि हाल जनमुक्ति मार्गअन्तर्गत तीन चरणमा काम भइरहेको छ। महाभारत गाउँपालिकाको तीनखुट्टेदेखि गाउँपालिकाको केन्द्र देविटारसम्मको साढे आठ किमी सडक कालोपत्र भएको श्रेष्ठले जानकारी दिए।

उक्त सडक स्तरोन्नतिका लागि रू ६० करोडमा ठेक्का सम्झौता भएपछि काम थालिएको थियो। समपूरक अनुदानतर्फ चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट रू २० करोड र प्रदेश सरकारबाट रू २० करोड विनियोजन गरिएको थियो।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार तीनखुट्टेदेखि देविटार सडक कालोपत्रका लागि चालु आवमा रू चार करोड बजेट विनियोजन भएको छ। त्यस्तै महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखि–घर्तीछाप–गोकुलेसम्मको करिब १० किमी सडक स्तरोन्नतिको काम सुरु गरिएको उनले जानकारी दिए। रू ३९ करोडमा निर्माण हुने उक्त सडक खण्डका लागि चालु आवमा रू सात करोड बजेट विनियोजन भएको हो।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका जनमुक्ति मार्गअन्तर्गत गाउँपालिकाभित्रको करिब ३५ किमी सडक स्तरोन्नतिको काम भइरहेको छ। उनले उक्त मार्गको अन्य खण्डमा पनि धमाधम काम भइरहेको भन्दै तीनखुट्टेदेखि देविटारसम्मको कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापरबाही गरेकाले ढिलाइ भएको बताए।

अध्यक्ष जिम्बाले निर्माण व्यवसायीलाई ताकेता गरेर हाल तीनपक्षीय सहमति गरिएकाले काम चाँडै सुरु हुने जानकारी दिए। उनका अनुसार गाउँपालिका कार्यालय, पूर्वाधार विकास कार्यालय र निर्माण व्यवसायीबीच १० बुँदे सहमति गरी पुनःकाम सुरु गरिएको छ।

‘समयसीमा सकिन लाग्दा निर्माण व्यसायीले लापरबाही गरेपछि तीन पक्षबीच १० बुँदामा सहमति गरेर काम सुरु गरिएको छ’, जिम्बाले भने। कार्यालयले उक्त मार्ग काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुङ्गाबाट मकवानपुरको सिमाना सिक्रे दोभानसम्मको चार किमी सडक स्तरोन्नतिका लागि स्रोत सुनिश्चितता भएकाले प्रक्रिया थालिएको जनाएको छ।

काभ्रेपलाञ्चोकतर्फ बिपी राजमार्गदेखि पिन्थलीसम्मको करिब आठ किमी, महाभारत गाउँपालिकाको गोकुलेबाट खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गासम्मको करिब ११ किमी सडक र मकवानपुरतर्फ झुरझुरे–भोर्लेनी–सिक्रेदोभान करिब १३ किलोमिटर सडक निर्माण गर्न बाँकी छ।