शीर्षकहरू

भारत जोड्ने पक्की पुल बन्ने भएपछि नेपालगञ्जवासी हर्षित

भारत जोड्ने पक्की पुल बन्ने भएपछि नेपालगञ्जवासी हर्षित

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन्। भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा हालसम्म पक्की सडक निर्माण भएको छैन।

उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुसी लागेको स्थानीय कैलाश यादवले बताए। ‘हाम्रो वडाका भित्री सडक अहिलेसम्म पक्की भएको छैन, अब भने बन्ने आशा जागेको छ’, यादवले भने, ‘पक्की सडक नहुँदा वर्षाका बेला हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्था रहेको छ।’ 

नेपालगञ्ज–१५ स्थित जमुनाहा गाउँमा मुख्य सडक सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म पुग्ने २२० मिटर लामो सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी एएनडी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ। रु ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने उपमहानगरपालिकाका इञ्जिनियर प्रदीपकुमार हरिजनले जानकारी दिए।

पक्की सडक निर्माणसँगै ४० खम्बामा सडक बत्ती जडान, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुआत भएको वडा नं १५ का वडाध्यक्ष मदनविक्रम शाहले बताए। उनले साविकको पिप्रहवा गाविस रहेको वडा नं १५ भौगोलिकरुपमा ठूलो वडा भएकाले पूर्वाधार विकासमा बजेटको अभाव हुने भएकाले जनताको चाहनाबमोजिम काम हुन नसकेको बताए। 

यसैगरी भारतीय सीमा क्षेत्रसँग जोडिएको उपमहानगरपालिका–१६ जयसपुरमा मुख्य सडक जोड्ने फराकिलो पक्की सडक निर्माण प्रक्रिया सुरु भएको छ। जयसपुरस्थित अब्दुल रहमानको घरदेखि पचपोखरा जाने बाटोसम्म पक्की सडक बन्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ।

यो सडक निर्माण सम्पन्न भएसँगै जयसपुरवासीलाई मुख्य सडकसम्म पुग्नका लागि सवारी आवतजावतमा सहज हुनुका साथै जयसपुरको मुहार परिवर्तन हुने वडाध्यक्ष कलीम अहमद जोलाहले बताए। वडाध्यक्ष जोलाहको विशेष पहलमा वडामा पक्की सडक बन्ने भएपछि वडावासी खुसी भएको वडासचिव तेजबहादुर सिंहले बताए।

‘जयसपुरमा अहिलेसम्म साँघुरा सडक भएका कारण वडावासीलाई मुख्य सडकसम्म पुग्न समस्या रहेको छ’, उनले भने, ‘अब यो सडक बनेपछि जयसपुर गाउँभित्रैसम्म ठूला सवारीसाधनको सहजै आवागमन हुनेछ र त्यसले यहाँको समग्र विकासमा प्रभाव पार्नेछ।’

रु ९० लाखको लागतमा सडक निर्माण काम सुरु भएको छ। उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले जयसपुरको विकासमा यो सडकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सडकको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्नका लागि सबै वडावासीले ध्यान दिनुपर्नेमा जोड दिए।