शीर्षकहरू

यूरोपसँग व्यापार तथा पूर्वाधार सम्बन्ध बढाउँदै चीन र भारत

यूरोपसँग व्यापार तथा पूर्वाधार सम्बन्ध बढाउँदै चीन र भारत

एजेन्सी। उदयीमान बजार रहेका दर्जनौं मुलुकसँग विश्वकै आर्थिक महाशक्ति राष्ट्र अमेरिकाले अनेक टकराव लिइरहँदा विश्वको प्रमुख निर्यातक चीन र भारतले व्यापार तथा पूर्वाधारमा स्थायी साझेदार बनाएका छन्‌।

यसअघि दक्षिण अमेरिकी, केही खाडी मुलुक र अफ्रिकी महादेशलाई व्यवसायको केन्द्र बनाएका चीन र भारतले हालैका दिनमा यूरोपेली मुलुकसँग पूर्वाधार र व्यापारिक सम्बन्धमा नयाँ उपलब्धी हासिल गरेका हुन्‌।

यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन-यूरोप रेल यातायात सञ्चालनले नयाँ रेकर्ड कायम गरेको खबर छ। चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेड (चाइना रेलवे)का अनुसार सन् २०२४ को पहिलो २ महिनामा चीन-यूरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९२८ पुगेको छ, जुन गत वर्षको तुलनामा ९ प्रतिशत बढी हो।

चाइना रेलवेका अनुसार फेब्रुअरीको अन्त्यसम्ममा यसले २५ यूरोपेली देशका २१९ शहरमा सेवा विस्तार गरिसकेको छ। बढ्दो रेल यातायातबाट यूरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी निकै बढेको छ।

भारत र यूरोपेली देश बीच व्यापार सम्झौतामा हस्ताक्षर

भारतले हिजो आइतबार स्विट्जरल्याण्ड, आइसल्याण्ड, नर्वे र लिकटेन्स्टाइन समावेश भएका यूरोपेली स्वतन्त्र व्यापार संघका देशहरूसँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ।

यस सम्झौतामा इएफटीए देशहरूले आगामी १५ वर्षमा भारतमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने र त्यस्ता लगानीहरूमार्फत भारतमा १० लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने प्रतिबद्धता गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो सम्झौताले खुला, निष्पक्ष, समतामूलक व्यापारका साथै युवाहरूका लागि रोजगारी सृजना गर्ने बताएका छन्‌। ती देशमध्ये, स्विट्जरल्याण्ड भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने नर्वे दोस्रो हो।