शीर्षकहरू

एक खर्ब ५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता

एक खर्ब ५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता

काठमाडौं । चालु  आर्थिक  वर्षको  २०८०/८१  को  माघ  मसान्तमा एक खर्ब ५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । समीक्षा अवधिमा एक लाख ३२ हजार ७०६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको थियो । 

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आवको २०८०÷८१ को माघ मसान्तमा एक लाख ३२ हजार ७०६ ऋणीलाई प्रवाह भएको एक खर्ब ५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको हो ।यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ५२ हजार ५७४ ऋणीलाई प्रवाह भएको एक खर्ब चार अर्ब ६० करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७७ हजार ६०२ महिला उद्यमीलाई प्रवाह भएको ४७ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ५३० ऋणीको दुई अर्ब १० करोड कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ ।आव २०८०÷८१ को सात महिनामा वाणिज्य बैङ्कको २५ खर्ब ९६ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैङ्कबाहेक) को दुई खर्ब ७६ अर्ब २६ करोड गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोडको अन्तरबैङ्क कारोबार भएको छ ।

अघिल्लो  वर्षको  सोही  अवधिमा  वाणिज्य  बैङ्कको २० खर्ब ५६ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाको दुई खर्ब चार अर्ब १२ करोड गरी कुल २२ खर्ब ६० अर्ब ५२ करोडको अन्तरबैङ्क कारोबार भएको थियो ।

गत  आवको  माघ  महिनामा  ९१  दिने  ट्रेजरी  बिलको  भारित  औसत  ब्याजदर  ९.७९  प्रतिशत  रहेकोमा  २०८०  माघमा  ३.३४  प्रतिशत  रहेको  छ । बैङ्क तथा वित्तीय संस्थाबिचको अन्तरबैङ्क कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत रहेको छ ।