शीर्षकहरू

२०० रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक

२०० रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक

चितवन । पहाडबाट २०० रुपैयाँ लिएर चितवन झरेका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक भएका छन्‌। चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ।

अहिले गजुरेलको पाइप उद्योग, पानी ट्याङ्की उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुरमा फिटनेस सेन्टर (जिम हाउस) लगायत थुप्रै ठाउँमा लगानी छ। यो सफलता त्यसै हात लागेको भने होइन। वि.सं. २०२९ मा नुवाकोटको पीपलटारमा जन्मिएका गजुरेल बुबा गोपीचन्द्र र आमा पुतलीका जेठा छोरा हुन्‌।

एक भाइ र तीन बहिनीसँगै परिवारको जिम्मेवारी उनको काँधमा थियो। निम्नवर्गीय किसान परिवारमा हुर्किएका गजुरेलको विद्यालयको पढाइ खर्च आफैँले तरकारी लगाएर नजिकैको सेनाको ब्यारेकका ठेकेदारलाई बेचेर चलाए। वि.सं. २०४७ मा प्रवेशिका उत्तीर्णसँगै अध्ययन र उपार्जनका लागि उनी चितवन झरे।

उनका साथी यहाँको नीलकमल प्लास्टिक उद्योगमा काम गर्थे। त्यही उद्योगमा उनले मासिक रु नौ सय पाउने गरी सहयोगीको जागिर पाए। चार महिना काम गर्दै गर्दा एक साँझ आफ्नो कामको पालो नपरेको बेला साथीले काम गरिरहेको हेर्ने क्रममा उनको हात मेसिनमा पुग्यो। दुईवटा औंला मेसिनले काट्यो। यो उनको जीवनको निकै सङ्घर्षको समय रह्यो। 

त्यसपछि उनी गाउँ फर्किए। केही महिनापछि फेरि चितवन झरे। साइकलमा प्लास्टिक बेचेको उनले देखे। त्यही उद्योगका सञ्चालकको प्लास्टिक पसल थियो। बिहान नारायणगढस्थित बालकुमारी क्याम्पस पढ्ने र दिउँसोमा साइकलमा पसल–पसलमा प्लास्टिक पुर्‍याएर बिक्री गर्ने काम उनले थाल्नुभयो। नवलपरासी र चितवनका सबै सहरी क्षेत्रमा उनी साइकलमै पुग्थे।

बिदाको अघिल्लो दिन टाढाटाढा पुगेर त्यही रात बिताएर भोलिपल्ट फर्किन्थे। १८ वर्षको त्यो उमेरमा बिहानदेखि साँझ अबेरसम्म उनी साइकलमै खटिन्थे। वि.सं. २०४८ माघदेखि आफैंले काठमाडौँबाट प्लास्टिक ल्याएर यहाँ बिक्री गर्न थाले। यतिबेला उनले दैनिक रु १२ हजारसम्मको प्लास्टिक बिक्री गर्थे।

यससँगै उनको जीवनयापन केही सहज बन्दै गयो। वि.सं. २०४९ मा एक साथीसँग मिलेर नारायणगढको मेनरोडमा रु ३५ हजारमा चितवन प्लास्टिक ट्रेडर्स पसल किने। पसल किन्न मामाघरको हजुरबुबाले रु १० हजार दिए। यो रकम उनको जीवनको व्यावसायिक यात्राका लागि महत्वपूर्ण बन्यो। इमान्दार भएकै कारण साहुहरुले उधारो पनि पत्याउन थाले। 

यतिबेला पनि उनी साइकलमा प्लास्टिक बिक्री गरिरहन्छन्‌। वि.सं. २०५३ मा उनले पसललाई बढाउँदै थोक बनाए। त्यहीँबाट गोरखा, धादिङ, तनहुँ प्लास्टिकजन्य सामग्री जान थाल्यो। उनले भने, ‘मैले निरन्तर १५ वर्ष बिहान ६ देखि राति १० बजेसम्म साइकलमा प्लास्टिक बेचेको छु।’

थोक पसलमा कतिपटक त रातको समयमा समेत सुत्न नपाएको उनको स्मरण छ। राति अबेरसम्म सामान लोड गर्दै जाँदा बिहान ५ बजेको र त्यसपछि मुख धोएर निरन्तर काम गरेको उनी अनुभव सुनाउँछन्‌। वि.सं. २०५४ मा विवाह गरेपछि उनलाई काममा साथ मिल्यो।

वि.सं. २०५८ सालमा उनले रु १८ लाखमा लिलाचोकमा पुरानो घर किने। त्यही घरमा उनको पसल सुरु भयो। सुरुमा सँगै रहेका साझेदारलाई अर्को पसल खोलेर आफूले एक्लै व्यापार थाले। वि.सं. २०६५ सालमा भारतको दिल्लीमा प्लास्टिक एक्स्पोमा उनी पुगे। त्यहाँ देखेपछि उनी नेपाल फर्किएर प्लास्टिकको पाइप उद्योग सुरु गरे। अर्को वर्षदेखि उनले चितवन पोलीपाइप उद्योग सुरु गरे। सो उद्योगमा पाइपसँगै प्लास्टिकका झोलालगायत सामग्री पनि उत्पादन हुने गर्दछ। 

भरतपुर महानगरपालिका–४ मा दुई वर्षअघि नै नौ कट्ठा जग्गा उनले किनेका थिए। त्यही जग्गामा उद्योग सुरु भयो। त्यसपछि २०७० सालमा आकाश प्लास्टिक उद्योग खोले भने २०७४ सालमा प्लास्टिकका ट्याङ्क उत्पादन गर्ने उद्योग सुरु भयो। पुरानो उद्योग नजिकै १५ कट्ठा जमिन लिएर उनले यो उद्योग सुरु गरेका थिए। चितवन राइनो ट्याङ्कीका रुपमा उनको उत्पादन बजारमा छ।

दुई वर्षपछि २०७६ भदौमा सौराहामा रोयल टाइगर लग्जरी रिसोर्ट उनले सुरु गरे। यसैगरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा राइनो फिटनेस हव यही वर्षको मङ्सिरबाट सञ्चालनमा छ। यस बीचमै उनले जिल्लामा चलेको सञ्जु इलेक्ट्रोनिक पसल खरिद गरे। इलेक्ट्रोनिक्स, होटल र फिटनेस सेन्टर उनका २५ वर्षे छोरा आकाशले हेर्दै आएका छन्‌। 

उनीसँगै भाइ सुन्दर व्यावसायिक क्षेत्रमा सँगसँगै छन्‌। परिवारले दिएको साथ उनको सफलताको अर्को पक्ष हो। उनले गरेको आम्दानी र बैङ्कको साझेदारीमा उद्योग र व्यवसाय फस्टाएको उनी बताउँछन्‌। व्यावसायिक सफलतासँगै उनी सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका छन्‌।

वि.सं. २०७५ देखि २०७९ सम्म उनी प्लास्टिक व्यवसायी सङ्घ चितवनको अध्यक्ष थिए भने उद्योग वाणिज्य सङ्घ चितवनको कार्यसमिति सदस्य समेत भएर काम गरे।

इमान्दारीपूर्वक निरन्तरको सङ्घर्षले नै आफूलाई सफलता मिलेको उनको भनाइ छ। कामलाई सानोठूलो नभनी निरन्तर त्यसैमा लाग्यो भने एक दिन सफलता मिल्ने बताउँदै उनी भन्छन्‌, ‘मेरैजस्तै सङ्घर्ष र मिहेनत गर्न सके युवा विदेश पलायन हुनु पर्दैन।’