सङ्खुवासभा। राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको ६.५ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ। भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक नेपाली सेनाले खोल्ने काम सम्पन्न गरेको हो।
उत्तरी क्षेत्रमा रहेको नाका किमाथाङ्का निकै विकट र दुर्गम मानिन्छ। भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ। कडा चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो।
खाँदबारी–किमाथाङ्का १६२ किलोमिटरमध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो। हालसम्म नेपाली सेनाले ६.५ किलोमिटरसम्म मात्र ट्रयाक खोल्ने काम सकेको हो। अरु ३.५ किलोमिटर सडकको स्तरोन्नतिसमेत गरिसकेको छ।
त्यसैगरी यस वर्ष साढे तीन किलोमिटर सडक स्तरोन्नति गरिने आयोजनाले जनाएको छ। भौगोलिक हिसाबले किमाथाङ्का– खाँदबारी सडकको ट्रयाक खोल्नै सकस देखिएको हो। खाँदबारी–किमाथाङ्का १६२ किलोमिटरमा २०६५/६६ सालमा ट्रयाक खोल्न सुरु गरिएको थियो।
त्यस्तै यस वर्ष साढे दुई किलोमिटर ट्रयाक खोलिने खाँदबारी–किमाथाङ्का सडक आयोजनाले जनाएको छ। रु ६२ करोड ९० लाखमध्ये हालसम्म रु ४२ करोड खर्च भइसकेको जनाइएको छ। भौगोलिक विकटता भए पनि नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी लगेर किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोल्ने काम गरिरहेको छ। हिउँदमा हिमपात र बर्खायाम वर्षाका कारण सडक निर्माण तीव्रगतिमा हुन सकेको छैन.
उत्तर–दक्षिण (कोशी) सडक योजना कार्यालय सङ्खुवासभाले विभिन्न प्याकेजमा काम सुरु गरेको थियो। तीन खण्डमध्ये हटिया क्षेत्रमा हेलिकप्टरबाट ट्रयाक्टर, स्काभेटर, इन्धन ढुवानी गरेर काम अघि बढाइएको थियो। सडक निर्माणका लागि दैनिक १५० जनशक्ति परिचालन गरिएको छ। सो सडकले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्।
किमाथाङ्का–जोगवनी सडकखण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो। च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ। यसरी सडक विस्तारसँगै त्यस क्षेत्रमा चहलपहल बढे पनि किमाथाङ्कानाका भने अझै सञ्चालनमा आउन सकेको छैन। सडकसँगै सीमामा भन्सार कार्यालयसमेत स्थापना हुनुपर्ने स्थानीयको माग छ।