शीर्षकहरू

किन बढ्यो सर्वोत्तम सिमेन्टको शेयरमूल्य एकै दिन प्रतिकित्ता ५० बढीले

किन बढ्यो सर्वोत्तम सिमेन्टको शेयरमूल्य एकै दिन प्रतिकित्ता ५० बढीले

काठमाडौं । सर्वोत्तम मिसेन्ट लिमिटेडको शेयरमूल्य आइतवार एकै दिन ५० रूपैयाँ २० पैसाले बढेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८१८ रूपैयाँ कायम भएको हो । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार दिनदेखिनै सर्किट लेभलमा मूल्य बढ्दै कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ८३ रूपैयाँसम्म पुगेको थियो । 

चैत १५ गते उक्त मूल्य कायम गरेको कम्पनीको शेयरमूल्य त्यसपछि भने घटबढ हुदैं अघिल्लो कारोबार दिन ७६७ रूपैयाँ ८० पैसा कायम भएको थियो । आइतवार न्युनतम ७५५ रूपैयाँ ३० पैसासम्म झरेको कम्पनीको शेयरमूल्य ८२६ रूपैयाँ २० पैसासम्म पुगेको थियो । पछिल्लो समय शेयरमूल्यसँगै कारोबार रकम समेत घटेको थियो । आइतवार कम्पनीको ७ करोड ८८ लाख रूपैयाँभन्दा बढीको ९९ हजार ४७६ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन यस कम्पनीको ५ करोड २३ लाख रूपैयाँभन्दा बढीको ६७ हजार १३२ कित्ता शेयर कारोबार भएको थियो ।

पुस १९ गतेपछि सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया ठप्प हुँदा आईपीओ निष्कासन हुन सकेको छैन् । यो बीचमा धितोपत्र दोस्रो बजारमा आईपीको रुपमा सर्वोत्तम सिमेन्टको शेयर भित्रिएको हो । लगानीकर्ताको उच्च मागका कारण निरन्तर सर्किट लेभलमा मूल्य बढीरहेको अवस्थामा आठौं कारोबार दिनदेखि विक्री चाप बढ्दा कम्पनीको शेयरमूल्यमा असर परेको हो । 

पछिल्लो पाँच कारोबार दिन निरन्तर घटेर आइतवार नेप्से परिसूचक पनि १२ दशमलव २९ अंक माथी उक्लिएको छ । बजार बढ्दा सर्वोत्तम सिमेन्टको शेयरमूल्यमा समेत सकारात्मक प्रभाव परेको देखिन्छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ५५६ रूपैयाँमा भएको थियो । नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट यस कम्पनीले आईपीओ विक्री गरेको हो । न्यूनतम ५० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा प्राप्त गरेका लगानीकर्ताले १८ हजार ४५ रूपैयाँ लगानी गरेका थिए । प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसामा न्यूनतम ५० कित्ता माग गर्न सकिने गरी कम्पनीले आईपीओ विक्री गरेको थियो ।

आईपीओ विक्री गरेकै वर्ष कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ६५ करोड रूपैयाँको आधारमा कर समेत १५ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गर्ने प्रस्ताव गरको हो । प्रस्तावित लाभांश कम्पनीले वैशाख १२ गते वार्षिक साधारण सभामार्फत पारित गर्दैछ । साधारण सभा प्रयोजनका लागि चैत ३० गते एक दिन बुक क्लोज गरेकाले चैत २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । लाभांश सुरक्षित गर्ने अवधि समाप्त भैसक्दा पनि कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण कायमै रहेको देखिन्छ ।