शीर्षकहरू

उपत्यकाका सार्वजनिक रुखमा बेरिएको झिलिमिली हटाउन थालियो

उपत्यकाका सार्वजनिक रुखमा बेरिएको झिलिमिली हटाउन थालियो

काठमाडौं । रुखमा  अनावश्यक झिलमिले बत्तीले चरा  र  किरा  फट्याङ्ग्रालाई  असर  पारेको  भन्दै  अभियानकर्मीले  सार्वजनिक  स्थानका  रुखमा  राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक   आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा   अनावश्यक   रूपमा राखिएका   बत्ती   भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्यको अगुवाइमा हटाउन सुरु गरिएको हो । 

पहिलो  चरणमा  काठमाडौँको  न्युरोडको  पिपलबोटमा  राखिएका  बत्ती  अभियानकर्मीले  हटाएका हुन् । झट्ट हेर्दा आकर्षक देखिए पनि त्यसले  रुखको  आयु  घटाउने,  चराले  रातको  समयमा सुत्न नपाउने समस्या बढेको भन्दै हटाएको अभियानकर्मीले उल्लेख गरेका छन् । अभियानकर्मी जीवनपति श्रेष्ठले रुख साझा सम्पत्ति भएको र रुखसँगै हजारौँ जीवजन्तु आश्रयमा पर्ने  भएकाले  रुखमा  राखिएका  अनावश्यक  झिलमिले  बत्ती  हटाइएको  बताउनुभयो  ।

उहाँले  सुरुमा  मान्छेले  थाहा  नपाएर  त्यस्ता  बत्ती  राख्ने  गरेको भए पनि त्यसको असरबारे थाहा पाएपछि हटाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो । धेरै ठाउँमा स्वेच्छाले हटाउने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो । बत्ती  हटाउन  विद्युत्को  जोखिमसमेत  हुने  भएकाले  बत्ती  हटाउन  परेमा  आफ्नो  समूहसँग  सम्पर्क राख्न अनुरोध गर्दै त्यस्ता बत्तीका अनेकौँ बेफाइदा हुने उहाँले बताउनुभयो । उहाँले नेपालभरमा राखिएका त्यस्ता बत्ती हटाउन आफूहरूले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

 रुख सबैको साझा भएको र कृत्रिम प्रकाशका कारण चराको जीवन नै सङ्कटमा परेकोतर्फ सचेत रहन आग्रह उहाँले गर्नुभयो । उहाँले रुखमा राखिएको झिलिमिली बत्ति विकास र समृद्धिको सूचक नहुने बताउँदै त्यस्ता कार्य गर्दा धेरै पटक सोच्न आवश्यक रहेको  बताउनुभयो  ।    धेरै  बत्ती  बालेर  उज्यालो  बनाउँदा  समृद्धि  नआउने  तर  धेरै  आवाजविहीन  प्राणीलाई  राम्रोसँग  सुत्न  नसक्ने  स्थिति  सिर्जना  गराएको उहाँले बताउनुभयो ।