शीर्षकहरू

कहिले पति कहिले पत्नी सहकारीको अध्यक्ष, सात अर्ब ८९ करोड हिनामिना

कहिले पति कहिले पत्नी सहकारीको अध्यक्ष, सात अर्ब ८९ करोड हिनामिना

काठमाडौं । विद्यार्थी राजनीतिमा असफल भएपछि काभ्रेका चन्द्रबहादुर लामा (सिबी तामाङ लामा) २०५५ तिर सहकारी क्षेत्रतर्फ लोभिए । सहकारी खुल्ने र जनताबाट राम्रै बचत सङ्कलन हुने देखेपछि १५ वर्षअघि पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्थापना गरे । सुरुवाती दिनमा सिबीले खोलेको सहकारीको नेतृत्व पत्नी सन्ती लामाले गरे । 

चन्द्रबहादुर लामाले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड स्थापना गरेर आफू अध्यक्ष बने । दुवै सहकारी संस्था बचत तथा ऋणसम्बन्धी काम गर्ने भएकाले आर्थिक समस्या हल हुँदै गयो । काभ्रेबाट काठमाडौं आएका लामा १२ वर्षसम्म सहकारीको बचत रकमले घरजग्गा प्लटिङ कारोबारी भए । उनले अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगानी गरे । सहकारीमा आलोपालो पतिपत्नी अध्यक्ष भएर काठमाडौं, ललितपुरसहित विभिन्न जिल्लाका सात हजार २०७ सर्वसाधारणको सात अर्ब ८९ करोड ९९ लाख नौ हजार ७२ रुपियाँ अपचलन र हिनामिना गरेपछि लामालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार पशुपति सहकारीबाट एक हजार ४२ जनाको एक अर्ब ११ करोड ४८ लाख तीन हजार ६१८ रुपियाँ अपचलन भएको छ । त्यसै गरी कान्तिपुर सहकारीबाट छ हजार १६५ जनाको छ अर्ब ७८ करोड ५१ लाख पाँच हजार ४५४ रुपियाँ अपचलन लामासहित सञ्चालकबाट भएको छ । सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई २०८० साउन १ गते र कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई २०८० फागुन ३ गते समस्याग्रस्त सहकारी घोषणा गरी सबै सञ्चालकको सम्पत्ति रोक्का गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

परिवारभित्रै सहकारीको बचत लगानी

चन्द्रबहादुर लामाले २०५५ देखि २०७४ सम्म पशुपति सहकारीको अध्यक्ष आफ्नै पत्नीलाई बनाए । समस्याग्रस्त सहकारी समितिका अनुसार सहकारी ऐनले परिवारकै दुई सदस्य अलग–अलग सहकारीमा अध्यक्ष बन्न नपाउने बाध्यकारी व्यवस्था गरेपछि मात्रै लामा पशुपति सहकारीको नेतृत्वमा गएका हुन् । उनले सहकारीका विभिन्न पदमा पनि आफन्त भर्ना गरे । 

सदस्य सचिव पौडेलले भने, “कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा हिमालयविक्रम मल्ल ठकुरी अध्यक्ष बनेपछि सिबी लामा पशुपति सहकारीको अध्यक्ष बन्नुभएको देखिन्छ ।”

सहकारीमा बचतकर्ताले नियमित बचत गर्न थालेपछि लामाको जीवनस्तरमा परिवर्तन आयो । राजनीतिमा पनि बिस्तारै सफलता हासिल हुँदै गयो । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिदेखि महासमिति सदस्यसम्म भइसकेका लामाले राजनीतिक प्रभावसँगै सहकारीको रकम अपचलन गरे पनि कसैले उजुरी गर्न सक्ने अवस्था थिएन । लामा नेपाली कांग्रेस काभ्रेका पूर्वकोषाध्यक्ष तथा काभ्रे निर्वाचन क्षेत्र नं. १(१) मा २०७४ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवार थिए ।

ललितपुरको महालक्ष्मी नगरपालिका–९ का लक्ष्मीदेवी उपाध्यायले सहकारीमा राखिएको बचत रकम अपचलन भएको थाहा पाए पनि सहकारी सञ्चालकको आलटालले उजुरी दिन ढिलाइ भएको बताए । उनले भने, “अध्यक्ष, सञ्चालक र व्यवस्थापकविरुद्ध बोले वा उजुरी गरे बचतको पैसा फिर्ता नहोला भन्ने डर लाग्यो । त्यसैले प्रहरीकहाँ गएनौँ तर मेरो श्रीमान् पटक पटक जाँदा पनि पैसा फिर्ता आएन । त्यसै बेला सहकारी संस्था समस्याग्रस्त घोषणा भएको थाहा भयो ।”

महत्वाकाङ्क्षी योजना 

समितिका अनुसार पछिल्लो पाँच वर्षदेखि सहकारी क्रमशः आर्थिक अपचलनबाट समस्याग्रस्त भएको हो । २०७७ सालमा सहकारीको साधारण सभामा अध्यक्ष लामाले आफ्नै संयोजकत्वमा ७७ जिल्लामै एकीकरण अभियान चलाउने घोषणा गरे । उनले ‘नेपालकै नमुना सहकारी’ बनाउने घोषणासहित सहकारी एकीकृत गर्ने बताए पनि त्यसको दुई वर्ष नबित्दै पशुपति सहकारीमा आर्थिक अपचलनको सिलसिला छताछुल्ल भयो । 

समस्याग्रस्त सहकारी समितिका सदस्य सचिव पौडेलले भने, “सहकारीको विधिविधानविपरीत लगानी गरेपछि यही परिणाम आउने हो । कारबाही प्रक्रिया अगाडि बढाएका छौँ । बचतकर्तालाई बचत रकम फिर्ता गर्न पहल भइरहेको छ ।”

२० वटै सहकारीको अपचलन सङ्कलन

समितिका सदस्य सचिव पौडेलका अनुसार समस्याग्रस्त घोषित सबै सहकारी संस्थाले अपचलन गरेको रकम सार्वजनिक गरेको छ । बचत गरेको रकम दाबी गर्न आउने सूचना प्रकाशन गरेपछि पीडित बचतकर्ताले गरेको दाबी र पुष्टि हुने विवरणका आधारमा २० वटै सहकारीका ५९ हजार ३२१ बचतकर्ताबाट सङ्कलित ३५ अर्ब ९८ करोड ८० लाख ७२ हजार ४४१ रुपियाँ अपचलन, हिनामिना र अनियमितता भएको थाहा भएको हो । 

सरकारले २०८० चैत १३ गते समस्याग्रस्त घोषणा गरेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध एक हजार ५५१ बचतकर्ताले उजुरी दिएका छन् । उनले उक्त सहकारीको दुई अर्ब ८४ करोड १३ लाख १९ हजार ५३५ साँवा बचत रकम देखिएको बताए ।  

आजको गोरखापत्र दैनिकमा समाचार छ ।