शीर्षकहरू

‘विद्युतीय ट्याक्सी सञ्चालकको पुर्पुरोमा हात छ, बुझेर मात्र लगानी गर्नुहोस्’

भेष बहादुर थापा, नेपालको पहिलो सार्वजनिक विद्युतीय  यातायात सेवा प्रदायक सुन्दर यातायात प्रालिका अध्यक्ष हुन् । सुन्दर ट्रेडर्सका सञ्चालक समेत रहेका उनलाई एक गाडी व्यापारीका रुपमा नभएर यातायात व्यवसायीका रुपमा सार्वजनिक विद्युतीय सवारीको हालको अवस्था र समस्याका विषयमा केन्द्रित रहेर आर्थिकन्युजले केही प्रश्नहरू सोधेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

सार्वजनिक यातायातको रुपमा विद्युतीय सवारी साधन नेपालको परिप्रेक्ष्यमा कतिको व्यवशायिक बन्न सक्दो रहेछ ?

हामीले बि. स. २०७६ सालदेखि पहिलो सार्वजनिक विद्युतीय बस सञ्चालन गरिरहेका छौँ । यसमा पनि केही समस्या छन् तर ठूला छैनन् । मैले देखेको समस्या चाहिँ कतिपय साना विद्युतीय सवारी साधन सार्वजनिक यातायातको रुपमा प्रयोग गर्नेहरूलाई छ । उनीहरूले बुझेर वा नबुझेर त्यो चलाइरहेका छन् जस्तो लाग्छ । कतै बुझेर भन्दा बढी लहैलहैमा लागेर सञ्चालन गरेको पाएका छौँ ।  

नेपालमा विद्युतीय सवारी साधनको विस्तार त भयो तर व्यवसायीहरू व्यवसायिकरुपमा प्रवेश भने भएका छैनन् । विद्युतीय सवारी साधन भनेको आफैमा एउटा नयाँ प्रविधि  हो । नेपाल पनि यो प्रविधिमा अघि बढी सकेको छ । मेरो भनाइ यो हो की विद्युतीय सवारी साधनमा लगानी गर्दा यसबारे बुझेर मात्रै गर्नु पर्छ । अरूको कुरा सुनेर त्यसैको भरमा मात्रै लगानी गर्न हुँदैन ।

खास भन्न खोज्नु भएको चाहिँ के हो अलिक प्रष्ट्र पारिदिनुहुन्छ ?

भन्न खोजेको के हो भने प्राय व्यवसायीहरू एउटा समिति दर्ता गरेर दुई वटा गाडी किन्नु हुन्छ । त्यसरी सञ्चालन गर्दा एक वर्षसम्म कुनै समस्या नपर्ला । रातदिन कमाएर बैंकको किस्ता  (इएमआइ) तिर्नु होला । तर, त्यो एक वर्षपछिको इएमआइ कहाँबाट तिर्ने भन्ने कुराको ज्ञान भने उहाँहरूले लिनु भएको देखिँदैन । अज्ञानताका कारण विद्युतीय सवारी साधन खरिद गरेकाले उहाँहरूले टाउकोमा हात राखेर बस्नु बाहेकको विकल्प देखिँदैन ।

व्यवसायिकरुपमा यसले कति प्रतिफल दिन्छ भन्ने आँकलन नगरी विद्युतीय सवारी साधन खरिद गर्नेहरू धेरै छन् भन्ने तपाइको भनाइ हो ?

वास्तविकरुपमा त्यही हो । उदाहरणको लागि मानौँ तपाइले ट्याक्सीका रुपमा चलाउन कुनै पनि विद्युतीय सवारी साधन खरिद गर्न जानु भयो भने त्यो साधनको मूल्य ३६ लाखदेखि ३७ लाखसम्म छ। तर, तपाइले नम्बर प्लेटसहित लिँदा ४३ लाखसम्म पर्छ । यो मूल्यमा सवारी साधन खरिद गरेको सवारी साधनको वारेन्टी भनेको ५ वर्ष वा १ लाख ६० हजार किलोमिटर मात्र हो ।

विद्युतीय सवारी साधन बिक्री गर्ने बेलामा एक लाख ६० हजार किलोमिटर वा पाँच वर्ष भन्ने शब्द राखिन्छ। जसमा ५ वर्षलाई हाईलाईट गर्ने र १ लाख ६० हजार किलोमिटर भन्ने कुरालाई अलिक महत्त्व नदिने गर्छन्, गाडी व्यापारीहरूले । यसैबेला प्रष्ट्र रुपमा बुझाई दिनुपर्नेमा गाडी व्यापारीले समेत त्यसो गरेको देखिँदैन ।

काठमाडौंमा चलिरहेको विद्युतीय ट्याक्सीहरू पाँच वर्षमा  जम्मा एक लाख ६० हजार किलोमिटर कुदाउँछु भन्ने हो भने दिनको ८९ किलोमिटर भन्दा बढी कुदाउन हुँदैन । त्यति मात्रै कुदाएर घरमा लगेर राख्नु पर्‍यो । प्रति किलोमिटर ट्याक्सी भाडा कति हो त ? ल मानौँ ५० रुपैयाँ नै लिने हो भने पनि जम्मा संकलन हुने ४५०० रुपैयाँ मात्र हो । यसबाट त खर्च नै उठ्दैन अनि के खाने ?

यो कुरा उहाँहरूले बुझ्नु भएन । अर्थात् हिसाब नगरी लगानी गर्नु भएको छ । उहाँहरूलाई इन्धन जोगियो भन्ने लागेको छ । त्यही तेल किन्ने पैसाले इएमआई तिर्न पुग्छ भन्ने बुझाई देखिन्छ । तर, इन्धनको केही मूल्य बचत भए पनि गाडीको खरिद मूल्य बढी परेको तर्फ उहाँहरूले ध्यान दिएको देखिँदैन ।

विद्युतीय ट्याक्सीको वारेन्टी छिटै सकियो भने लगानीको सुनिश्चितता हुँदैन भन्ने हिसाब हो तपाईँको ?

एउटा ट्याक्सीको मूल्य ४३ लाख रुपैयाँ पर्छ । ४३ लाख रुपैयाँ नै क्यास लगेर गाडी खरिद गर्न सकिँदैन । कुनै न कुनै वित्तीय संस्थाबाट कर्जा लिनै पर्‍यो । त्यसमा कम्तीमा १० प्रतिशत ब्याज पर्छ । त्यो ब्याज पनि आखिर भुक्तानी गर्नु पर्छ ।

वारेन्टीपछिको अवधिका लागि कर्जा पाइँदैन । उसले दिने कर्जा भनेको पाँच वर्षको लागी हो । त्यो भन्दा बढी त उसले दिँदैन । त्यस हिसाबले इएमआई झन्डै ९० हजार रुपैयाँ पर्छ । त्यो भनेको दैनिक ३ हजार भन्दा बढी हो । ब्याट्री चार्जको खर्च चार सय रुपैयाँदेखि पाँच सय रुपैयाँ प्रत्येक दिन पर्छ । सवारी चालकलाई न्यूनतम हजार रुपैयाँ दिनै पर्‍यो । गाडी बीमा २५० रुपैयाँ तिर्नु पर्छ । गाडीको ब्याट्री ब्याकअपका लागि दुई सयदेखि २५० रुपैयाँ छुट्याउँदा मात्रै  अर्को पटक किन्न सहज हुन्छ ।

यस हिसाबले दैनिक अधिकतम आम्दानी हुँदा ४५ सय तर खर्च भने ५ हजार हुने देखिन्छ । ९० हजार मासिकको इएमआए दिनको तीन हजार रुपैयाँ पर्छ । गाडी कहिले पनि तीस दिन नै चल्दैन । यदि चली नै हाल्यो भने दैनिक तीन हजार इएमआई र दैनिक दुई हजार रुपैयाँ अतिरिक्त पैसा लाग्छ ।

कमाइ त्यति हुन्छ त ?

हुँदैन ।  त्यसैले त यस्तो व्यवसाय घाटामा जान्छ भन्दै छु । बढीमा बढी  ४५ सय रुपैयाँ कमाउला । पाँच सय रुपैयाँ त अझै पुग्दैन । ट्याक्सी चलाए बापत दैनिक ५ सय रुपैयाँ त ऋण पो थपिने देखिन्छ । स्वरोजगार ट्याक्सी चालक समेत महिनामा १५ हजार रुपैयाँ ऋणमा पर्छ ।

त्यसो नहोस् भन्नका लागि राती अनि दिउँसो चलाउँछु भन्यो भने अर्को समस्या देखिन्छ । किनकि ब्याट्री छिटो चार्ज हुँदैन । चार्जका लागि तीन चार घण्टा बस्नु पर्ने हुन्छ । त्यो अवधि पनि खेर गयो । उसले रात दिन चलाउँछु भनेर पनि सक्दैन । त्यसैले, बुझेर हिसाब गरेर, सही आँकलन गरेर मात्रै विद्युतीय सवारी साधन किन्न अनुरोध गर्दछु ।

तपाइले यसो भनिरहँदा विद्युतीय सवारी साधन ठिक रहेनछ भन्ने सन्देश गएन ?

मैले यो सचेतताका लागि मात्रै भनेको हो । विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्छ भन्नेमा दुई मत नै छैन । यसलाई देशव्यापी बनाउन नै सुन्दर यातायात लागि परेको छ । मैले विद्युतीय सवारी साधन चलाउन ठिक होइन भन्न खोजेको बिलकुलै होइन । यति मात्र हो कि कस्ता सवारी कुन मूल्यमा खरिद गरेर चलाउँदा व्यावसायिक रुपमा समेत सही हुन्छ भन्ने सोचेर, बुझेर मात्रै लिनु पर्छ । व्यवसायीकरुपमा अध्ययन गरेर मात्रै विद्युतीय चलाउनु पर्छ ।

यसरी व्यावसायिक रुपमा लाभदायक नहुनुको खास कारण के हो ?

सरकारले सहयोग नगरेका कारण यस्तो भएको हो । अरूलाई नम्बर प्लेट दिइरहनु भएको छ तर ट्याक्सीलाई छैन । ट्याक्सीलाई पनि विद्युतीय सवारी साधनको रुपमा नयाँ नम्बर प्लेट दिएर पठाउँदा कुनै पनि समस्या पर्दैन । यसो गरिदिएमा लागत झन्डै ६ लाख रुपैयाँ कम पर्छ । त्यो घटाउँदा राहत मिल्छ । व्यावसायिक रुपमा समेत ट्याक्सी चलाउन सकिने अवस्था आउँछ ।

यो नघटाउनुमा पुराना ट्याक्सी व्यवसायीको ठूलो हात छ । उहाँहरू नम्बर होल्ड गरेर बस्नु भएको छ । त्यो नम्बर एउटाकै लागि ६ देखि ७ लाख रुपैयाँ माग्नु हुन्छ । त्यो किन्दा मूल्य बढ्दै गएको छ । त्यसले गर्दा विद्युतीय ट्याक्सी चलाएर काठमाडौं उपत्यकामा फाइदा हुन सक्ने अवस्था नै छैन ।

भनेपछि सरकारका कारण ट्याक्सीको मूल्य सात लाखसम्म बढी परेको हो ?

हो, सरकारले ३६ लाख पर्ने ट्याक्सीलाई ४३ लाख तिर्न बाध्य पारिरहेको छ । सरकारका कारण यो भएको हो भन्ने कुरा नेपालको नेतृत्व तहमा पुगेकाहरूले बुझ्नु पर्छ । यो पैसाबाट कमिसन पाएका छन् भने यसमा मैले भन्नु केही छैन ।

तर, त्यो पैसा सरकारले जोगाइदिने हो भने गरिखाने बाटो बन्छ । यसबारे सरकारी पक्षले ध्यान दिनु पर्छ । विद्युतीय सवारी साधनलाई सहज रुपमा नम्बर प्लेट दिएर सहजता प्रदान गर्नु पर्छ ।