शीर्षकहरू

नेपाल लाइफले दुई आर्थिक वर्षको साधारण सभा असार १८ गते गर्ने

नेपाल लाइफले दुई आर्थिक वर्षको साधारण सभा असार १८ गते गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्ला दुई आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को संयुक्त वार्षिक साधारण सभा असार १८ गते बोलाएको छ । जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल भिष्वा विरगञ्ज, पर्सामा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । आर्थिक वर्ष ०७९/८० को लागि सञ्चालक समितिले प्रस्ताव गरेको कर समेत २१ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशलाई समेत सभाले अन्तिम रुप दिनेछ । 

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । उल्लेखित प्रस्तावहरूसँगै संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

यी कामका लागि सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा असार ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।