शीर्षकहरू

एनएमबि लघुवित्तले असार २१ गते साधारण सभा गर्ने

एनएमबि लघुवित्तले असार २१ गते साधारण सभा गर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल बाराही, पोखरामा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।  

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लगानीकर्ताको हात भने खाली बनाएको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश प्रस्ताव गरेको छैन । 

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सभाले संस्थापक तर्फबाट एक जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन र स्वतन्त्र सञ्चालनको नियुक्ती र एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन सक्नेछन् ।