शीर्षकहरू

करोडमुनिबाट ६ अर्ब पुग्यो प्लाइउड निर्यात, कारण सरकारी अनुदान कि स्वदेशी बजार अभाव?

करोडमुनिबाट ६ अर्ब पुग्यो प्लाइउड निर्यात, कारण सरकारी अनुदान कि स्वदेशी बजार अभाव?

काठमाडौं । कुनै समय नेपालमा भारतबाट ठूलो मात्रामा प्लाइउड आयात हुन्थ्यो । तर अब नेपालका लागि प्लाइउड निर्यातको प्रमुख गन्तव्य बनेको छ भारत । एक दशकयता नेपाली व्यवसायीले स्वदेशमै उद्योग स्थापना गर्न थालेपछि आयात रोकिएर भारततर्फ प्लाइउड निर्यात हुन थालेको हो ।

पछिल्ला वर्षमा नेपालमा प्लाइउड उत्पादन र निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै नेपालबाट ५ अर्ब ९९ करोड ६४ लाख रुपैयाँको प्लाइउड निर्यात भएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार यस अवधिमा ३१ लाख मेट्रिक टन प्लाइउड निर्यात भएको छ । 

यस आर्थिक वर्षको वैशाखसम्ममा निर्यात भएको प्लाइउड अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब दोब्बरले बढी हो । अघिल्लो आवको वैशाखसम्म नेपालबाट ३ अर्ब ५८ करोड ४९ लाख रुपैयाँको प्लाइउड निर्यात भएको थियो ।

नेपालबाट प्लाइउड निर्यातको एक मात्र गन्तव्य भारत देखिएको छ । यसअघिका वर्षमा अमेरिकालगायत अन्य मुलुकमा पनि न्यून संख्यामा प्लाइउड निर्यात हुने गरेकोमा यस वर्ष भने भारतबाहेक अन्य मुलुकमा निर्यात देखिन्न ।

प्लाइउड निर्यात बढ्नुको कारण नेपालमा बजार नभएको व्यापारीहरु बताउँछन् । तर सरकारले अनुदान दिन थालेपछि प्लाइउड निर्यातले गति लिएको देखिन्छ । सरकारले स्वदेशी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन प्लाइउडको निर्यातमा नगद अनुदान दिने निर्णय गरेको थियो । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू पालामा २०७९ असोजमा प्लाइउड निर्यातमा सरकारले चारदेखि आठ प्रतिशतसम्म नगद अनुदान दिने कार्यविधि जारी गरेको थियो । त्यसपछि प्लाइउडको निर्यात निरन्तर बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ९८ करोड ८१ लाख रुपैयाँको मात्रै प्लाइउड निर्यात भएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा यसको निर्यात ३३ करोड रुपैयाँमा मात्रै सीमित थियो । 

२०७९/८० को प्रथम त्रैमासिकमा प्लाइउडको निर्यात उल्लेख्य हुनसकेको थिएन । तर असोजमा नगद अनुदान दिने कार्यविधि जारी भएसँगै त्यसपछि निरन्तर प्लाइउडको निर्यात उकालो लाग्न थालेको हो ।

नगद अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७९ अनुसार सरकारले कुल ३६ वटा वस्तुमा नगद अनुदान दिँदै आएको छ । सरकारले नगद अनुदान दिन थालेपछि पछिल्लो समय प्लाइउडको निर्यात ह्वात्तै बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाई बताउँछन् । 'निर्यातमा नगद अनुदान प्रभावकारी बन्दै गएको देखिन्छ । अघिल्लो वर्षको निर्यातलाई आधार मानी देशको अर्थतन्त्रमा योगदान दिइरहेका निर्यात हुने सबै वस्तुमा अनुदान दिने व्यवस्था भएमा वैदेशिक व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्छ,' उनले बताए ।

सरकारी अनुदानले भन्दा पनि नेपाली बजारमा माग नै नभएकाले निर्यात बढेको व्यवसायीहरु बताउँछन् । 'नेपाली बजारमा माग नै छैन । त्यसैले विदेश नै प्लाइउडको गन्तव्य बनिरहेको छ, त्यसमा पनि भारत प्रमुख गन्तव्य बनेको छ,' प्लाइउड व्यवसायी शिवजीराय यादव बताउँछन् ।

प्लाइउड निर्यातको अर्को प्रमुख कारण भारतीय वन नीति पनि हो । भारतको वन मन्त्रालयले गत वर्ष आगामी ५ वर्षसम्म वन कटान नगर्ने र जंगल संरक्षण गर्ने नीति लिएको थियो । जसको प्रभावले नेपालबाट भारतमा प्लाइउड निर्यात बढेको देखिन्छ ।