शीर्षकहरू

धनुषाका किसानलाई चाइनिज माछा हस्तान्तरण

धनुषाका किसानलाई चाइनिज माछा हस्तान्तरण

जनकपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय धनुषाले चाइनिज ‘कमन कार्प हुकौला’ माउ माछा माछापालक किसानलाई वितरण गरेको छ । सो कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले माउ माछा वितरण गरेका हुन् । 

नेपाल कृषि अनुसन्धान परिषद् मत्स्य अनुसन्धान केन्द्र बेगनाश, पोखरा कास्कीको सहयोगमा उक्त माउ माछा महोत्तरी र धनुषा जिल्लाका २४ भन्दा बढी किसानलाई निःशुल्करूपमा वितरण गरिएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कडरीयाले माछापालन किसानका लागि राम्रो आम्दानीको स्रोत भएकोले माछाको उत्पादन र विकासमा लाग्न जरुरी रहेको बताए । 

साथै उनले भारतलगायत अन्य मुलुकबाट आयातीत माछामा रोग भएका तथा हानिकारक औषधि प्रयोग गरिएको माछा बिक्री हुने गरेकाले उपभोक्ता सचेत रहन आग्रह गरे । कृषि अनुसन्धान परिषद् मत्स्य अनुसन्धान केन्द्र बेगनास, पोखरा कास्कीका प्रमुख डा अकवाल हुसैनले सङ्घीय सरकार तथा प्रदेश सरकारद्वारा उच्च नश्लको माछाको उत्पादन र विकासमा जोड दिएको बताउँदै आज वितरण गरिएको ‘कमन कार्प हुकौला’ माउ माछाको गुणस्तरीयताका बारेमा जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख ललनकुमार सिंहको अध्यक्षतामा माछाको माउ वितरण कार्यक्रममा भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डा सञ्जीव ठाकुर, पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय धनुषाका प्रमुख जागेश्वर यादवले नेपालमा उत्पादन हुने माछाका विषयमा आफ्ना भनाइ राखेका थिए ।