शीर्षकहरू

रोशी बन्यो ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’

रोशी बन्यो ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’

धुलिखेल  । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरेका हुन् ।

गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार छ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका  पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् ।   सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले गाउँ शिक्षा समितिको असार ५ गतेको निर्णयअनुसार बिहीबारदेखि लागू हुनेगरी रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको महानिर्देशक सुवेदीले बताए । 

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवका ढकालले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भविष्यमा पनि त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए । अध्यक्ष लामाले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको स्पष्ट पारे ।