शीर्षकहरू

जेठमा धितोपत्र दोस्रो बजारमा १ खर्बभन्दा बढीको कारोबार, सबैभन्दा बढी हिस्सा जलविद्युतको

जेठमा धितोपत्र दोस्रो बजारमा १ खर्बभन्दा बढीको कारोबार, सबैभन्दा बढी हिस्सा जलविद्युतको

काठमाडौं । जेठ महिनामा धितोपत्र दोस्रो बजारमा १ खर्ब ५१ करोड रूपैयाँभन्दा बढीको २२ करोड ७५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । ऋणपत्र र संस्थापक शेयर समूह समेत १५ समूहको उक्त रकम बराबरको कारोबार भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको हो । नेप्सेका अनुसार कुल कारोबारमा जेठ महिनामा जलविद्युत समूहको सबैभन्दा हिस्सा रहेको छ । 

नेप्सेका अनुसार जेठ महिनामा जलविद्युत समूहको २६ अर्ब ९५ करोड रूपैयाँभन्दा बढीको ८ करोड कित्ता शेयर कारोबार भएको छ । जलविद्युतपछि लघुवित्त समूहको १९ अर्ब ६७ करोड रूपैयाँभन्दा बढीको १ करोड ९५ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । यो महिना सबैभन्दा कम ऋणपत्रको कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । ८ करोड १९ लाख रूपैयाँ बराबरको ७८ हजारभन्दा बढी कित्ता ऋणपत्र जेठमा कारोबार भएको हो । 

त्यस्तै वित्त समूहको ११ अर्ब ६२ करोड रूपैयाँभन्दा बढीको २ करोड २५ लाख भन्दा बढी कित्ता कारोबार भएको छ भने लगानी समूहको ८ अर्ब ८९ करोड रूपैयाँभन्दा बढीको १ करोड ३२ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । बैंकिङ समूहको जेठमा ७ अर्ब २४ करोड रूपैयाँभन्दा बढीको २ करोड ९३ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । 

विकास बैंकको ५ अर्ब २० करोड रूपैयाँभन्दा बढीको १ करोड ३३ लाखभन्दा बढी कित्ता, उत्पादन तथा प्रशोधनको ४ अर्ब ९५ करोड रूपैयाँभन्दा बढीको ७९ लाख ९४ हजार कित्ता, जीवन बीमाको ४ अर्ब १६ करोड रूपैयाँभन्दा बढीको ८५ लाखभन्दा बढी कित्ता, निर्जीवन बीमाको ३ अर्ब ९६ लाख रूपैयाँभन्दा बढीको ५८ लाखभन्दा बढी कित्ता, अन्यको ३ अर्ब ६१ लाख रूपैयाँभन्दा बढीको ५७ लाखभन्दा बढी कित्ता, होटल तथा पर्यटनको ३ अर्ब ६ करोड रूपैयाँभन्दा बढीको ४३ लाखभन्दा बढी कित्ता, संस्थापक शेयर ५६ करोड रूपैयाँभन्दा बढीको ३२ लाखभन्दा बढी कित्ता रहेको छ ।

 व्यापारिकको ३८ करोड रूपैयाँभन्दा बढीको ८४ हजार कित्ता र म्युुचुअल फण्डको ११ करोड ८९ लाख रूपैयाँभन्दा बढीको १ करोड ३५ लाखभन्दा बढी इकाई खरीदविक्री भएको नेप्सेको भनाई छ । आर्थिक वर्ष समाप्त हुन लागेसँगै दोस्रो बजारमा कारोबार रकम बढी रहेको अवस्थामा लगानीकर्ताले कम पूँजी र थोरै शेयरमूल्य भएका धितोपत्र खरीदमा बढी आकर्षण देखाएको ब्रोकरहरूको भनाई छ ।