शीर्षकहरू

शंकास्पद कारोबार ५७.२ प्रतिशतले बढ्यो

शंकास्पद कारोबार ५७.२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकायहरुले उच्च नियमन गर्दा पनि नेपालमा शंकास्पद कारोबार नियन्त्रणमा आउन नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदन (न्यूजलेटर)मा २०२३ मा मात्रै नेपालमा शंकास्पद कारोबार तथा गतिविधि ५७.२ प्रतिशतले देखिएकाे हो । 

प्रतिवेदन अनुसार वर्ष २०२३ मा मात्रै नेपालमा ६ हजार २५५ वटा शंकास्पद कारोबार भएको छ, जुन वर्ष २०२२ को भन्दा २ हजार २७६ वटा बढी हो । २०२२ मा भने ३ हजार ९७९ वटा शंकास्पद कारोबार भएको थियो । त्यसअघि २०२१ मा १ हजार ८५४ र २०२० मा १ हजार १०३ वटा शंकास्पद कारोबार भएको थियो । यसरी नेपालमा शंकास्पद कारोबार उच्च मात्रामा बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ ।

त्यसमा वाणिज्य बैंकहरुमा सबै भन्दा धेरै शंकास्पद कारोबार हुने गरेको देखिन्छ । समीक्षा वर्ष वाणिज्य बैंकहरुमा ५ हजार २८२ वटा शंकास्पद कारोबार भएको प्रतिवेदनमा देखिन्छ । यसैगरि विकास बैंकमा ३३० वटा शंकास्पद कारोबार तथा गतिविधि भएको प्रतिवेदनमा उल्लेख छ । वालेट जस्ता भुक्तानी सेवा प्रदायक कम्पनीहरूमा २११ वटा शंकास्पद कारोबार भएको राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, रेमिट्यान्स कम्पनीमा १५६, वित्त कम्पनीमा ९९, स्टक ब्रोकरमा ६२, भुक्तानी प्रणाली सञ्चालकमा ४९, लाइफ इन्स्योरेन्स कम्पनीमा २६, लघु वित्तमा २४, राष्ट्र बैंकमा ११, नन लाइफ इन्स्योरेन्समा २, सहकारीमा २ र मर्चेन्ट बैंकरमा १ वटा शंकास्पद कारोबार भएको छ । यो उनीहरूले नै गरेको शंकास्पद कारोबार भने होइन । उक्त संस्थाहरूमा सेवाग्राहीले गरेको कारोबारमा मध्ये सो सङ्ख्याका कारोबार शंकास्पद देखिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यसमा सम्पत्ति शुद्धीकरण गर्न मात्रै ३ हजार १९९ वटा कारोबार भएको छ । यसैगरि करी छलीमा १ हजार ८६८, मुद्रा, बैंकिङ तथा विदेशी मुद्रा सटहीमा १ हजार ४०, गठीमा ५६५, क्यासिनो तथा गेममा ४०५, फर्म, कम्पनी तथा एसोसिएसनहरुमा २८८, शिक्षा तथा स्वास्थ्य, वैदेशिक रोजगारीमा ७०, भ्रष्टाचारमा ४७, जालसाचीमा २६, घरजग्गामा २०, अध्यागमन तथा पासपोर्टमा १८, मानव बेचबिखनमा १४, तस्करमा १४, इन्साइडर ट्रेडिङमा ११, चोरीमा ६, आपराधिक समूहमा ६,  मिडियामा ५ र चुनावमा ३ वटा यस्तो कारोबार भएको छ । अन्य विभिन्न माध्यमबाट पनि यस्तो कारोबार भएको छ ।

यस्तै, २०२३ मा रकमका आधारमा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको छ । त्यसमा सबै भन्दा धेरै शंकास्पद कारोबार वाणिज्य बैंकहरुमा देखिएको छ । वाणिज्य बैंकहरुमा ३८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको यस्तो कारोबार भएको छ ।

यसैगरि विकास बैंकमा ४७ करोड २२ लाख, स्टक ब्रोकरमा ४२ करोड ९६ लाख, वित्त कम्पनीमा २६ करोड ५१ लाख, रेमिट्यान्स कम्पनीमा ११ करोड १३ लाख, लाइफ इन्स्योरेन्समा ३ करोड ६१ लाख, पीएपीमा १ करोड १५ लाख, सहकारीमा ४८ लाख, मर्चेन्ट बैंकरमा ४१ लाख र लघुवित्तमा २२ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ । यो उनीहरूले नै गरेको शंकास्पद  कारोबार होइन ।  सेवाग्राहीहरूले उनीहरूमा गरेको कारोबार मध्येमा यी सङ्ख्याका कारोबार शंकास्पद देखिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।