शीर्षकहरू

वातावरण सफाइमा जोडियो एलओडी क्लब

वातावरण सफाइमा जोडियो एलओडी क्लब

काठमाडौं । एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत राष्ट्रको लागी २ घण्टा अभियानमा सहभागिता जनाएको छ । वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउँदै क्लबका  उपाध्यक्ष राजु सिंह,निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुङ्गेलले हस्ताक्षर गरेका छन् ।

प्रत्येक शुक्रवार वातावरण प्रदूषण सम्बन्धी सचेतनामूलक जिङ्गल  तथा सन्देशमूलक भिडियो युवाहरूमाझ क्लबमा देखाउनुपर्ने सम्झौता भएको हो । क्लबले अन्य बार भन्दा शुक्रवार बढी मनोरञ्जन गर्न आउनेको सङ्ख्या बढी हुने भएकाले यस भिडियोले अभियानमा थप बल पुग्ने विश्वास गरेको छ । जसअन्तर्गत वातावरण प्रदूषणले पृथ्वीमा रहेका प्राणी तथा जैविक विविधतामा कस्तो असर परेको छ भनेर देखाइनेछ । 

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला र जनसङ्ख्याको तीव्र वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक  एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले धारणा राखे । यस सम्झौताले क्लबलाई वातावरण तथा राष्ट्र निर्माणमा क्लब अझ जिम्मेवार बन्न प्रेरित गरेको विश्वास व्यक्त गरे ।

अहिले जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती बनेको अवस्थामा मानवीय क्रियाकलाप सबैभन्दा बढी महत्त्वपूर्ण हुने उनले बताए । वातावरण सफा राख्नु हामी सबैको दायित्व रहेको उनको बुझाइ छ । क्लबमा आउने सबै ग्राहकलाई आफ्नो वरिपरिको वातावरणलाई सफा राख्न सुझाव दिए । राष्ट्र निर्माणमा हरेक मानिसको उत्तिकै योगदान रहेको कुँवरले बताए ।