शीर्षकहरू

भारतमा धार्मिक सभामा भागदौड मच्चिँदा सय जनाको मृत्यु

भारतमा धार्मिक सभामा भागदौड मच्चिँदा सय जनाको मृत्यु

लखनउ (भारत) । भारतको उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।

एक प्रचारकको प्रवचनका लागि हाथरस शहरनजिकै ठूलो भिड जम्मा भएको थियो । तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको आँधीले आतङ्क फैलाएको थियो । धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । 

“हामीले अहिलेसम्म ९७ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ । पीडितहरूका लागि राहत र चिकित्सा सहायता प्रदान गर्न ध्यान केन्द्रित गरिरहेका छौँ”, उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वीले भने, “उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो । त्यसपछि दुःखद घटना भयो ।”

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए ।  

“जब प्रवचन सकियो, सबै मानिस बाहिर भाग्न थाले”, शकुन्तला मात्र नाम बताउने एक महिलाले प्रेस ट्रस्ट अफ इन्डियालाई भनिन्, “मानिसहरू सडक किनारको नालीमा खसे, उनीहरू एकमाथि अर्को खस्न थाले र कुल्चिएर मृत्यु भयो ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारलाई दुई हजार चारसय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरेका छन् । 

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै ‘गहिरो समवेदना’ व्यक्त गरेकी छन् । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका आफन्तजनप्रति ‘समवेदना’ व्यक्त गरेको उनको सचिवालयले बताएको छ । “मुख्यमन्त्री आदित्यनाथले जिल्ला प्रशासनका अधिकारीहरूलाई घाइतेहरूलाई तुरुन्त अस्पताल लैजान र घटनास्थलमा उद्धार कार्य तीव्र बनाउन निर्देशन दिनुभयो”, सचिवालयले भनेको छ । उनले घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएका छन् । 

भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । भारतमा धार्मिक समारोहमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ । 

सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो । 

सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुईसय २४ तीर्थयात्रीको मृत्यु भएको थियो । चार सयभन्दा धेरै घाइते भएका थिए । - रासस