शीर्षकहरू

नेपालमा सुनको मूल्य तोलामा भारतभन्दा २८ हजार महँगो, तस्करीको जोखिम

नेपालमा सुनको मूल्य तोलामा भारतभन्दा २८ हजार महँगो, तस्करीको जोखिम

काठमाडौं । नेपालमा सुनको मूल्य भारतभन्दा अत्यधिक रहेको देखिएको छ । हाल भारतभन्दा नेपालमा सुनको मूल्य २८ हजार रुपैयाँ भन्दा बढी रहेको छ । बुधबार भारतीय बजारमा सुनप्रतितोला   १ लाख १४ हजार ७०७ रुपैयाँमा कारोबार भइरहेकोमा नेपालमा प्रतितोला रु १ लाख ४२ हजार ७०० मा कारोबार भइरहेको छ ।

गत एक साताको तथ्यांक हेर्दा भारतमा प्रतितोला सुन १ लाख १४ हजारको अंकमा अडिएको छ भने नेपालमा १ लाख ४० हजारदेखि १ लाख ४२ हजार रुपैयाँको बीचमा तोलामा सुन कारोबार भइरहेको छ । यससँगै नेपालमा भारतबाट पनि सुन तस्करीको जोखिम बढ्दै गएको छ ।

हाल नेपालमा सुन तस्करी हुने प्रमुख देश हुन् हुन्– दुबई, कतार, हङकङ र चीन । भारतबाट नेपालमा कपडा, खाद्यान्न र चिनीजस्ता दैनिक उपभोग्य वस्तुको तस्करी हुँदै आएको र बरामद पनि हुँदै आएको देखिन्छ । तर आगामी आर्थिक वर्षको बजेटसँगै नेपालमा सुन तस्करीको अर्को प्रमुख गन्तव्य भारत पनि बन्दै गएको देखिएको छ । 

नेपालमा तस्करीको सुन बिक्री भइरहेको तथ्य भने नयाँ होइन । अन्य मुलुकबाट तस्करी भएर भित्रिएको सुन व्यापारीहरूले नै खरिद–बिक्री भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा देखिएको छ । ६१ किलो सुन तस्करी प्रकरणमा सीआईबीले गरेको अनुसन्धानका क्रममा देशभर २२ हजार व्यापारीले तस्करीको सुन बिक्री गरिरहेको देखिएको छ । अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाएपछि सीआईबीले दिएको जानकारीअनुसार उक्त तथ्य बाहिरिएको हो । अनुसन्धानका क्रममा देशभर २२ हजारभन्दा बढी व्यापारीले तस्करीको सुन बेचिरहेको खुलेको सीआईबीका प्रमुख सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

केही समयअघि यही प्रकरणमा न्यूरोडको लक्की ज्लेलर्स र अष्टमंगल ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

बजेटले सुनको आयातमा ५ प्रतिशत भन्सार वृद्धि गरी २० प्रतिशत पुर्‍याएसँगै नेपालमा सुनको मूल्य बढेको र यसले तस्करीको नयाँ जालो खुलेको आशंका व्यवसायीहरूको छ । हाल वैध रूपमा भित्रिएको सुन बैंकमा थन्किएको छ । हाल राष्ट्र बैंकको अनुमतिमा वाणिज्य बैंकहरूले दैनिक २० किलोसम्म सुन आयात गरिरहेका छन् । व्यवसायीहरूले व्यापारीले नै सुन आयात गर्न पाउनेगरी कोटा सिस्टम हटाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले दैनिक ५० किलोसम्म सुन आयात गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

'अहिले सुनको सिजन भने होइन । सिजनमा २५–३० किलोभन्दा बढी सुनको माग हुने गरेको छ । त्यसैले अहिले बैंकमा सुन मौज्दात थुप्रिनु स्वभाविक हो,' सुन व्यवसायी सुशील महताले भने, 'सिजनमा यो सन्तुलनमा आउँछ ।' अहिले सुनको माग नहुनुको कारण तस्करीको सुन बजारमा पुगिरहेको छ भन्ने प्रश्नमा उनले उक्त सम्भावना भएको भने स्वीकार गरे । उनले भने, 'सुनको बिल अनिवार्य चाहिन्छ । त्यसैले त्यो जोखिम र कम सम्भावना भएको कुरा हो । तर हुँदै होइन भन्न सकिन्न । बजारमा तस्करीको सुन बिक्री भइरहेको अनुमान व्यवसायीहरूको पनि छ।'

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य भने नयाँ बजेटपछि अब एक तोला सुन आयात गर्न २८ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने हुँदा मूल्य अत्यधिक रहेको र यसले तस्करहरू सक्रिय भएको बताउँछन् । भन्सारका प्रभावका कारण अब नेपालमा भारतबाट पनि सुन तस्करी हुने सम्भावना बढेको आकलन उनको छ ।

सुनको मूल्य नेपाल र भारत (नेपाली रुपैयाँमा)