शीर्षकहरू

महिना दिनदेखि बन्द रहेको सहकारीले निकाल्यो बचत फिर्ता गर्ने सूचना

महिना दिनदेखि बन्द रहेको सहकारीले निकाल्यो बचत फिर्ता गर्ने सूचना

काठमाडौं । कार्यालय नै बन्द गरेर फरार भएको एक सहकारीले बचतकर्ताको रकम फिर्ता गर्ने सूचना निकालेको छ । एक महिना अघि (जेठ २१) गते सूचना निकालेर नै सेवा बन्द गरेको दर्शन बचत तथा ऋण सहकारी संस्थाले कम रकम बचत रहेका २५१० जना सदस्यहरूको रकम फिर्ता गर्ने जनाएको हो । 

यो पनिः दर्शन बचत तथा ऋण सहकारीका बचतकर्ता आन्दोलनमा, संस्थाको सेवा बन्द

सो सहकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘बचत फिर्ता कार्य योजना अनुसार रु ५०० (पाँच सय) देखि रु ५००० (पाँच हजार) सम्म बचत रहेका जम्मा २५१० जना साना बचतकर्ताहरूको मिति २०८१ आषाढ २३ गते आइतबारबाट ५ दिन भित्र बचत रकमको ५० प्रतिशतका दरले बचत फिर्ता गर्ने भनी कार्य योजनामा उल्लेख भए अनुसार रकम फिर्ता गर्न लागेको कुरा जानकारीको लागि सम्पूर्ण बचतकर्ता सदस्यहरूलाई अनुरोध छ ।’

संस्थाका अध्यक्ष दिनेश दर्शनधारीका अनुसार बचत फिर्ता गर्ने दिनहरूमा भिड बढी हुने भएकोले ज्येष्ठ नागरिकहरूलाई घरसम्म नै रकम फिर्ता गर्ने व्यवस्था मिलाइएको छ । साथै बचत फिर्ता मच्छेगाउँ सेवा केन्द्र र मुख्य कार्यालयको बचतकर्ताहरूको लागि नगाउँ स्थित सहकारी भवनबाट र अन्य सेवा केन्द्रहरूको सोनित्य भवन खुसिबुबाट बचत फिर्ता गरिने भएको छ । 

कार्य योजनामा उल्लेख गरिएको अनुसार पहिलो किस्ता बापट ५० प्रतिशत रकम वितरण गर्ने भनिएता पनि सञ्चालक समितिको निर्णय ले पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको सम्पूर्ण रकम नै फिर्ता गरिने भएको छ । बाँकी एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मलाई ५० प्रतिशतका दरले बचत फिर्ता हुने संस्थाले सूचना मार्फत जानकारी दिएको छ ।