शीर्षकहरू

यस्तो छ रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण

यस्तो छ रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण

काठमाडौं । असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतवार सार्वजनिक कम्पनीको तेस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य नाफा घटेको देखिन्छ ।

गत वर्षको तेस्रो त्रैमाससम्म ९२ करोड ७८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिसम्म २ करोड ६३ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको छ । गत वर्ष १ अर्ब २४ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनील यस वर्ष ३९ करोड ९७ लाख रूपैयाँभन्दा बढी मात्र यो नाफा गरेकाले खुद नाफामा असर परेको देखिन्छ । 

यस वर्ष कम्पनीको वित्तीय खर्चमा समेत बृद्धि भएकाले नाफा घटेको हो । गत वर्ष २४ करोड ९० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ३७ करोड ३३ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको छ । 

गत वर्ष ५४ रूपैयाँ ३४ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष घटेर २ रूपैयाँ ८ पैसामा सिमित भएको छ । सर्वसाधारणमा आईपीओ निष्कासन हुने समयमा कम्पनीको वित्तीय अवस्था खस्किएको देखिन्छ । लगानीकर्ताले लगानीको धारणा बनाउँदा वित्तीय अवस्थालाई प्रमुख आधार मान्ने हुँदा कम्पनीको आईपीओप्रति कम आकर्षण देखिने सम्भावना छ ।

सञ्चालनवापत्को आम्दानीसँगै यो वर्ष विक्री खर्च पनि घटेको छ । गत वर्ष १० अर्ब रूपैयाँभन्दा बढी सञ्चालनवापत् आम्दानी गरेको कम्पनीले यस वर्ष ७ अर्ब रूपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।

वस्तु विक्री खर्च गत वर्ष ८ अर्ब २३ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ६ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कुल सम्पत्ति १४ अर्ब २४ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व भने ७ अर्ब २१ करोड रूपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रूपैयाँ रहेको छ । अदर इक्वीटी रकम ५ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

हाल कम्पनीमा संस्थापकतर्फ ८९ दशमलव ८६० प्रतिशत शेयर स्वामित्व कायम छ । योग्य संस्थागत लगानीकर्तामा ४ दशमलव शूून्य ५६ प्रतिशत आईपीओ विक्री गरिसकेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र अन्य सर्वसाधारणमा ६ दशमलव शून्य ८४ प्रतिशत शेयर स्वामित्व रहने गरी आईपीओ विक्री गर्न लागेको छ । 

सम्पुर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ । आईपीओ विक्रीबाट संकलित रकम कम्पनीले उद्योगको उत्पादन विविधकरण एवम् क्षमता बृद्धिका लागि उपयोग गर्ने जानकारी दिएको छ । 

योग्य संस्थागत लगानीकर्तामा ९१२ रूपैयाँमा आईपीओ विक्री गरेको कम्पनीले त्यो मूल्यभन्दा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आईपीओ विक्री गर्न लागेको हो । पछिल्लो वित्तीय अवस्थालाई हेर्दा कम्पनीको शेयरमूल्य सर्वसाधारणमा भारी पर्ने चर्चा भइरहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीले दोस्रो बजारमा पहिलो कारोबार मूल्य पाउने भएकाले कम्पनीको शेयरमूल्य लगानीकर्तामा भारी पर्न जाने भएको हो । वास्तविक वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २४२ रूपैयाँ ५ पैसा छ । 

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीको प्रतिशेयर नेटवर्थ घटेर १७९ रूपैयाा ४५ पैसा कायम भएको छ । कम्पनीले ७५ करोड ३६ लाख ८४ हजार रूपैयाँ विद्युत महसुल वापत्को रकम घटाएर नेटवर्थ गणना गरिएकाले घटेको जानकारी दिएको छ । 

गत आर्थिक वर्षको अन्त्यसम्मको वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर सूचीकृत हुने सम्भावना बढी रहेकाले न्यूनतम प्रतिकित्ता २४२ रूपैयाँ ५ पैसादेखि अधिकतम प्रतिकित्ता मूल्य ७२६ रूपैयाँ १५ पैसा तय हुनेछ । जुन मूल्य योग्य संस्थागत लगानीकर्तासँगै सर्वसाधारण लगानीकर्ताले तिरेको मूल्यभन्दा कम हुनेछ ।