शीर्षकहरू

७८ वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

७८ वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

काठमाडौं । नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा  २००३ सालयताकै बढी वर्षा भएको छ । यही असार २४ गते बिहान ०८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६२४.० मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर तथा सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो ।

वायुमण्डलिय तथ्याङ्क, भू–उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली विकसित भएको थियो । साथै उपल्लो वायुमण्डल पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट जाउने जलवायुयुक्त हावा सो स्थानमा समिश्रण भई भारी वर्षा भएको विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि २०७४ साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६।२ मिलिमिटर वर्षा मापन गरिएको थियो भने भू–संरक्षण विभागको तथ्याङ्कअनुसार २०५० साउन ५ गते (सन् १९९३ जुलाई २०) मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४०.० मिलिमिटर वर्षा मापन गरिएको थियो ।