काठमाडौं । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । राष्ट्रियसभा गृहमा आज बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो ।
बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गर्नुभएको संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मत पारित गरेका हुन् । बैठकमा नगरसदस्यले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।
नगरप्रमुख साहले नगरसदस्यको उठाएको विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गरेका छन।
काठमाडौँ महानगरपालिकाले यही असार १० गते आर्थिक वर्ष २०८१र८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै रु १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार रुपैयाँ र सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख रुपैयाँ र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि १९ करोड नौ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।