शीर्षकहरू

‘आयात निरुत्साहित गर्ने नीति अब सान्दर्भिक भए/नभएको मूल्यांकन गर्नुपर्छ’

‘आयात निरुत्साहित गर्ने नीति अब सान्दर्भिक भए/नभएको मूल्यांकन गर्नुपर्छ’

हामी विगत दुई वर्षयता निकै जटिल समस्यासँग जुधिरहेका छौँ । अर्थतन्त्रमा संकुचन छ भने सर्वसाधारणमा निराशा व्याप्त छ ।

मुद्रास्फीति ४.४० प्रतिशत छ । यो कम हुँदै गएको छ । तर अघिल्ला तीन वर्षमा करिब ७ प्रतिशत माथिको मुल्यवृद्धि भएको थियो । समग्रमा कोभिडपछि बजार भाउ निकै बढेको छ । तर सर्वसाधारणको क्रयशक्ति सोहीअनुसार बढ्न सकेको छैन ।

उद्यम व्यवसाय चल्न नसकेका कारण आम्दानी घटेको छ । नयाँ लगानी हुन नसक्दा रोजगारीका नयाँ अवसर पनि खुल्न सकेका छैनन् । विप्रेषण आप्रवाह १० महिनामै झण्डै १२ खर्ब पुगेको छ । जुन हालसम्मकै उच्च हो । यसरी आएको रकम बैंक वित्तीय संस्थामा जम्मा भएको छ । यसले नयाँ माग सिर्जना गर्न नसक्नु हामीले सोच्नुपर्ने विषय हो । 

कोभिडअघि मासिक औसत १ खर्ब ६० अर्बको आयात भएकोमा अहिले एक खर्ब ३० अर्ब हाराहारी छ । आयात घट्नु विदेशी विनिमय संचितिका लागि सुखद भए पनि यसले बजार चलायमान हुन नसकेको देखाएको छ । 

औद्योगिक कच्चा पदार्थ र मध्यस्थ वस्तुहरूको आयात पनि उत्साहजनक छैन । यसको अर्थ हो औद्योगिक गतिविधि संकुचित भैरहेका छन् । उत्पादनमूलक उद्योगहरु ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेका छन् ।  पर्यटन आगामन बढेको छ । तर विदेशिने विद्यार्थी र घुम्न जानेहरुबाट रकम पनि बाहिरिएको छ । तथापि विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब हाराहारी छ । यसले हरेक महिना रेकर्ड बनाइरहेको छ । साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न यो रकम पर्याप्त छ । जबकि यस वर्षको मौद्रिक नीतिको लक्ष्य ७ महिना थियो । सोधनान्तर स्थितिमात्र नभइ चालु खाता पनि घनात्मक छ । 

सञ्चिति सबल हुनु राम्रो हो । तर अत्यधिक संचिति हुनुले पनि आर्थिक गतिविधि सुस्ताएको संकेत गर्दछ । यस परिप्रेक्षमा हामीले बजेटमा पनि सुझाव दियौ । हाम्रा केही माग सम्बोधन भएपनि बजार चलायमान बनाउने नीति आउन सकेनन् । 

यसपछिको हाम्रो अपेक्षा मौद्रिक नीतिमा हो । माथिका केही तथ्यांकले मैले उदाहरण मात्रै दिन खोजेको हुँ । हामी सबै अर्थतन्त्रबारे जानकार नै छौँ । अब भने धेरै ढिला भैसक्यो, सुधारका उपाय अवलम्बन गरेनौँ भने निराशा थप बढ्नेछ । यस्तो अवस्थामा के गर्ने त ? यो प्रश्न स्वभाविक हो । यसबारे केन्द्रीय बैंक जानकार छ । तर पनि केही सुझाव यहाँ पेस गर्न चाहन्छु । 

पहिलो उत्पादनमूलक उद्योगको क्षमता बढाउनुपर्छ । ब्याजदर अन्यभन्दा कम गर्ने बिषय पहिले पनि आएको थियो । यसको कार्यान्वयनका बारेमा नीतिले बोल्नुपर्छ । मागमा आएको संकुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएको छ भने त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो । 

पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र हो । पर्यटन पुर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने बिषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । यसमा कर्जा प्रवाह सहज र सुलभ गरिनु उपयुक्त हुन्छ ।

गत वर्षभन्दा कर्जाको ब्याजदर घटेता पनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भैरहेका छन् । पुराना लगानीकर्ताले लगानी बढाउने र नयाँ व्यवसायी नयाँ लगानी गर्न सकेका छैनन् । बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरहरुमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्याले अहिले रकम प्रवाह हुन सकेको छैन । यो विषयलाई पनि नीतिले समेटनुपर्छ । 

अहिलेको अवस्थामा उद्योग व्यवसाय बन्द गर्नुपरेमा साँवा ब्याजको किस्ता तिर्ने प्रतिवद्धता भएका उद्योगहरु बन्द गर्न पाउने व्यवस्था गरी सहज कर्जा राफसाफको व्यवस्था गर्नुपर्छ । यसैगरी कर्जा चुक्ता गरिसकेपछि पनि ऋणीलाई लामो समयसम्म कालो सूचीमा राख्ने व्यवस्थाले पनि व्यवसायीलाई निरुत्साहित गरेको छ । यसतर्फ पनि म गभर्नर ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । 

यसैगरी शेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने तर्फ पनि सोच्नुपर्ने हुन्छ । यसले बजार चलायमान बनाउन मद्दत पुग्छ । बैंक र व्यवसायी एउटै समस्यामा छौँ । बैंक वित्तीय संस्थामा पनि समस्या देखिने हो कि भन्ने चर्चा हुन थालेको छ । खराब कर्जा अनुपात बढिरहेको छ । वित्तीय क्षेत्रलाई जोगाउनुपर्ने मात्र हैन अगाडि बढ्न पनि दिइनुपर्छ । गभर्नरज्यू र उच्च पदस्थ अधिकारीज्यूहरु, सबै व्यवसायीको नियत खराब होइन । परिस्थितिका कारण समस्यामा पर्ने धेरै छन् । नीति निर्माता पनि सुधारमै लागि रहनुभएको छ । तर नतिजा आउन सकेको छैन । हामी सबै एकै डुंगामा छौँ । 

अब हामीले समीक्षा गर्नुपर्ने बेला भैसकेको छ । विगतमा फरक परिस्थितिमा ल्याइएका नीतिहरु अहिलेको अवस्थामा सान्दर्भिक भए नभएको मुल्यांकन गरिनुपर्छ । आयात निरुत्साहित गर्ने, कर्जा नियन्त्रण गर्ने नीतिले असर अहिलेसम्म कायम छ भने सुधार गर्नुपर्छ । चालु पुँजी कर्जासम्बन्धी व्यवस्था अहिलेको परिस्थितिमा के कति र कति मात्रामा आवश्यक छ यसबारे पनि खुला छलफल हुनु आवश्यक छ । यही हाम्रो आग्रह छ । 

(मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा गभर्नरसँग निजी क्षेत्रले गरेको छलफलका क्रममा महासंघ अध्यक्ष चन्द्र ढकालले राखेको भनाइको सम्पादित अंश)