शीर्षकहरू

भारततर्फ निर्यात घट्दा चीनतर्फ ५७ प्रतिशतले बढ्यो

भारततर्फ निर्यात घट्दा चीनतर्फ ५७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा चीनतर्फको निर्यातमा उल्लेख्य सुधार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार भारत र अन्य मुलुकतर्फको निर्यात घटे पनि जेठ मसान्तसम्म चीनतर्फको निर्यातमा भने ५७.७ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिमा कुल वस्तु निर्यात ३ प्रतिशतले कमी आई रु.१३९ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ । त्यसैगरी अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैँचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।

अन्य मुलुकतर्फको निर्यात घटिरहँदा चीनतर्फ व्यापार बढ्नुको कारण भने लामो समयदेखि बन्द रहेका सीमा नाका खुल्नु रहेको छ । भूकम्प र कोरोनाका कारण आठ वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका २०८० वैशाखदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । त्यसअघि चीनबाट सामान आयात भइरहे पनि निर्यात हुन सकेको थिएन ।

यसैगरी  चीनसँग सीमा जोडिएको संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका गत महिनादेखि खुलेका थिए । कोरोना संक्रमणका कारण २०७६ माघ ५ देखि बन्द रहेका ती नाका एकसाथ खुलेका थिए ।

निर्यात मात्र नभएर चीनबाट आयातको मात्रा पनि निकै बढेको छ । वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई रु. १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो ।

अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युत्तीय उपकरण, हवाइजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई रु.१३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१३७ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१ खर्ब ३८ अर्ब ४७ करोड बराबरको भएको थियो ।

बृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.५ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ प्रतिशत, ०.६ प्रतिशत र ४४.३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८.७ प्रतिशत, पुँजीगत वस्तुको ९.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.४ प्रतिशत, ८.४ प्रतिशत र ३८.२ प्रतिशत रहेका थिए ।

वार्षिक विन्दुगत आधारमा २०८१ जेठ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ४.७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ०.९ प्रतिशतले बढेको छ । २०८१ जेठ महिनामा व्यापारको शर्त ३.८ प्रतिशतले बढेको छ