शीर्षकहरू

विदेशी मुद्रा सञ्चिति ५ वर्षयताकै उच्च

विदेशी मुद्रा सञ्चिति ५ वर्षयताकै उच्च

काठमाडौँ । हाल मुलुकमा कुल विदेशी विनिमय सञ्चिति विगत ५ वर्ष यता कै सर्वाधिक बढी रहेको छ । समग्र आयातमा आएको गिरावटका कारण यस्तो देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको वित्तीय विवरण अनुसार हाल मुलुकमा एकवर्ष भन्दा बढीलाई बस्तु तथा सेवा आयात धान्ने विदेशी रकम रहेको छ ।

२०८० असार मसान्तमा १५ खर्व ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्व ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई रु.१७५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ छ प्रतिशतले वृद्धि भई रु.२१४ अर्ब ४२ करोड कायम भएको छ ।

२०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।