शीर्षकहरू

वर्षासँगै आएको बाढी-पहिरोले महँगियो भान्सा

वर्षासँगै आएको बाढी-पहिरोले महँगियो भान्सा

काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण तरकारीमा पुगेको क्षति र बजारमा देखिएको अभावका कारण काठमाडौंमा तरकारीको मूल्य आकाशिएको छ । गत साता शुक्रबारदेखि शुरु निरन्तरको वर्षापछि त्यसयता तरकारीको मूल्य बढिरहेको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूचीअनुसार गोलभेडा, आलु, मुला, च्याउ, सिमी, भिन्डी, हरियो फर्सी , भान्टा , बोडी , काउली, प्याजलगायत भान्सामा प्रयोग हुने दैनिक उपभोग्य सामानको मूल्य बढेको छ ।

गत बिहीबार गोलभेडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेकोमा बुधबार १२० रुपैयाँ पुगेको छ । २७.६७ रुपैयाँ रहेको सानो लोकल गोलभेडाको मूल्य ५० रुपैयाँ पुगेको छ ।

४९ रुपैयाँ ७५ पैसामा बिक्री भइरहेको मुडेको रातो आलु ५२ रुपैयाँ पुगेको छ । ज्यापु काउलीको मूल्य किलोमा ३५ रुपैयाँसम्म बढेर ८५ रुपैयाँ कायम भएको छ । ६५ रुपैयाँ किलो रहेको स्थानीय काउली ९० रुपैयाँ पुगेको छ । बन्दाको मूल्य १३ रुपैयाँले बढेको छ । हाल कालिमाटीमा प्रतिकिलो बन्दाको मूल्य ३५ रुपैयाँ रहेको छ । लाम्चो भान्टाको मूल्य दोब्बरले बढेर बुधबार ७० रुपैयाँ छ । गत बिहीबार भान्टाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको थियो । डल्ले भान्टा ५५ रुपैयाँबाट बढेर ८५ रुपैयाँसम्म पुगेको छ ।

तने बोडीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । बुधबार १०० रुपैयाँ किलोमा बिक्री भएको तने बोडीको मूल्य गत बिहीबार ४५ रुपैयाँ मात्रै थियो । राजमा ६५ रुपैयाँबाट बढेर किलोमा १५० रुपैयाँ किलोसम्म पुगेको छ ।

४५ रुपैयाँ किलो रहेको लौकाको मूल्य ६० रुपैयाँ पुगेको छ ।

यसैगरी हरियो फर्सी, डल्ले च्याउ, रायोको सागलगायतका तरकारीको मूल्य पनि बढेको छ । किलोमा हरियो डल्ले फर्सी ३५ रुपैँयाबाट ५० रुपैयाँ, डल्ले च्याउ २९६ रुपैयाँबाट ४००, रायोको साग ५५ रुपैयाँबाट १३० रुपैयाँ पुगेको छ ।

यसैगरी तोरीको साग, घिरौँला, लोकल परवर, हरियो धनियाँ, अकबरे खुर्सानीको पनि मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।