शीर्षकहरू

ठुटीपिपल हाटबजारको ठेक्का रकम अचाक्ली बढाएपछि स्थानीय आक्रोशित, बजार तनावग्रस्त

ठुटीपिपल हाटबजारको ठेक्का रकम अचाक्ली बढाएपछि स्थानीय आक्रोशित, बजार तनावग्रस्त

भैरहवा । मंगलबार बिहान रुपन्देही जिल्लाको ओमसतिया गाँउपालिका वडा नं १ मा रहेको ठुटीपिपल बजार तनावग्रस्त बन्यो ।

पालिकाले हप्ताको दुई दिन लाग्ने ठुटीपिपल बजार (हाटबजार)मा चालु आवका लागि नयाँ ठेक्का आह्वान गर्दा विगतमाभन्दा बढी रकमको ठेक्का आह्वान गरेसँगै स्थानीय आन्दोलित बनेका हुन् ।

ठुटीपिपल बजार २०४५ साल देखि सडकमा लाग्दै अएको थियो । स्थानीयको पहलमा व्यवस्थित रुपमा २०५८ सालदेखि यस क्षेत्रमा बजार लाग्दै आएको छ । सुरुवाती चरणमा वार्षिक १२ लाखमा लागेको ठेक्का गत आवमा वार्षिक ७१ लाखमा ठेक्का सम्झौता भएको थियो । चालु आवमा ९४ लाखमा ठेक्का सम्झौता भएपछि स्थानीय र व्यवसायीलाई ठूलो मर्का पर्ने भएको भन्दै स्थानीय युवाले बजार बन्द गराएका हुन् ।

स्थानीय गोविन्द उपाध्यायले बजार व्यवस्थित नभएको र व्यवसायीले बजारमा ल्याउने समानमा चर्को रकम लिने गरेकाले बजार बन्द गर्न बाध्य भएको बताँउछन् ।

सारुख पठानले पालिकाले वर्षभरि एक पटक पनि आएर बजार अनुगमन नगरेको बताउदै मनमर्जी टेन्डर स्वीकृत गरेको बताँउछन् ।

विगत २५ वर्षदेखि ठुटीपिपल बजारमा व्यवसाय गर्दै आएका गिरिराज पन्थीले पालिकाले कहिले पनि यस बजारमा व्यापार गर्ने व्यवसायी सँग सहकार्य नगर्दा व्यवसायीका समस्या जस्ताको त्यस्तै रहने बताए ।

स्थानीय कर्णबहादुर रसाइली पालिकाका जनप्रतिनिधिले बेलाबखत अएर अनुगमन गरे मात्र सबै समस्या हल हुने बताँउछन् ।

ओमसतिया गाँउपालिकाका सूचना अधिकारी हरिप्रसाद पोख्रेलले गत आवको टेन्डर सकिएको र चालु आवको लागी टेन्डर स्वीकृत भइ नसक्दा बजारमा समस्या भएको बताए ।

उनले यहाँका व्यवसायी र स्थानीयको समस्लाई जनप्रतिनिधि समक्ष पुर्‍याउने प्रतिबद्धता गरे । उनले स्थानीय सरकारले बनाएको नीति नियम कर्मचारीले पालना गर्ने मात्रै भएको बताए ।

बिहानदेखि चर्किएको विवाद दिउँसो १२ बजे १३ बुँदे सहमति भएपछि बजार पुन: सञ्चालनमा आएको छ ।