शीर्षकहरू

गोर्खा भर्ती : नेपाललाई प्यालेस्टाइन बनाउने बेलायती षड्यन्त्र

गोर्खा भर्ती : नेपाललाई प्यालेस्टाइन बनाउने बेलायती षड्यन्त्र

सर्वप्रथम बेलायती शासकहरूको आदेशमा सर्वसाधारण र विपन्न गैरसैनिक नेपाली नागरिकहरूले विश्वका नेपालसँग मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका मित्रराष्ट्रहरूका निर्दोष नागरिकहरूमाथि गरेका अपराध तथा महिलाहरूमाथि गरेका ज्यादतिका सम्बन्धमा हाम्रा ती अञ्जान पिता पुर्खाको तर्फबाट क्षमा माग्दै विषयवस्तुमा प्रवेश गर्दछु ।

बेलायती शासकहरू विश्वलाई मानव अधिकार र प्रजातन्त्रको पाठ सिकाउँछन् । तर उनीहरूको मानव अधिकार निर्धामाथि बलियाको बलमिच्याइँ मात्र हो । यथार्थमा उनीहरू मानव अधिकारका पक्षधर होइनन् । यो कुरा नेपालको सार्वभौम भूमिमाथिको अतिक्रमण र गोर्खासम्बन्धी उसको नीति र व्यवहार जाँच गर्दा प्रष्ट हुन्छ । यो हामी उत्पीडितहरूको कटु अनुभव हो । बेलायती शासकले सार्वभौम राष्ट्रका स्वतन्त्र नेपाली नागरिकलाई बिना तलब दासको हैसियतमा बेलायती सेनामा भर्ती गरी वर्षौँदेखि शोषण गरिरहेको कारण पत्ता लगाउन गेसोको नेतृत्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अभियानहरू सञ्चालन गर्दै बेलायती अदालतमै मुद्दा दायर गर्न जाने निर्णय गर्‍यो । यसका लागि कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता डा गोपाल सिवाकोटी (चिन्तन) लाई नियुक्त गरियो ।

नेपालको राष्ट्रिय स्तरमा विभिन्न अभियानहरू सञ्चालन गरिसकेपछि हामी दक्षिण अफ्रिकाको रंगभेद विरोधी विश्व सम्मेलनमा भाग लिन गयौँ । मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको ५६ औँ र ५७ औँ बैठकमा सहभागी भयौँ । गेसोको तर्फबाट कानुनी सल्लाहकार गोपाल सिवाकोटी चिन्तनले बेलायती सेनाका गोर्खाहरूको अवस्था र सार्वभौम नेपाली भूमिमाथि बेलायती शासकहरूको ठाडो अतिक्रमणबारे कार्यपत्र प्रस्तुत गर्दा विश्वका प्रतिनिधिहरूले आश्चर्य मानेका थिए, भने बेलायती सरकारका प्रतिनिधिहरूको शिर निहुरिएको रोचक दृष्य देख्न पाइने थियो ।

१६ अप्रिल २००२ मा कानुनी सल्लाहकार डा गोपाल सिवाकोटी चिन्तन र म मुद्दाहरूको सन्दर्भमा बेलायत गयौँ । बेलायतस्थित गेसोका कानुनी सल्लाहकार सोलिसिटर फिल साइनरमार्फत् विश्व साम्राज्यवादीका नाइके बेलायती प्रधानमन्त्री टोनी ब्लेयरकी पत्नी वरिष्ठ अधिवक्ता श्रीमती चेरी बूथ (क्यूसी) लाई व्यारिष्टरमा नियुक्त गर्‍यौँ।

त्यसपछि गोर्खा ब्रिगेडका उच्च तहका अधिकृतहरूले ममाथि अनेकौँ षड्यन्त्र तथा डरलाग्दा आरोप लगाउन सुरु गरे । पदमबहादुरले भूपू सैनिकहरूसँग ३.८ मिलियन पाउण्ड उठाएर भष्ट्राचार गर्‍यो भनेर कर्णेल मार्क डूडलले बेलायतका पत्र–पत्रिकाहरूमा छपाए । पदमबहादुरलाई समाप्त पार्नुपर्छ भनेर गोर्खा ब्रिगेडका जनरल शाम काओनले नेपालका तत्कालीन राजा वीरेन्द्रलाई निवेदन दिएको रहेछन् । दरबार हत्याकाण्डपछि विवेक शाहको मैले देखेको दरबार भन्ने किताब पढेपछि मात्र थाहा पाएँ । ममाथि तीन पटकसम्म रक्ताम्य हुने गरी सांघातिक हमला गरियो । बेलायती गुप्तचरले ममाथि अनुसन्धान गरे । तर म एक रति पनि पछि हटिनँ । हरेक प्रतिकूल परिस्थितिको सामना गर्दै अघि बढेँ ।

नेपालका शासकहरूले खोज्न नसकेको, बेलायती शासकको डरले बोल्न नसकेको तथा बेलायती शासकहरूले लुकाएर राखेका नेपाल र नेपाली जनतामाथि गरेका जघन्य अपराधका फाइल खोतलेर विश्वसामु सार्वजनिक गर्न नेपालको इतिहासमा पहिलोपटक गेसोको तर्फबाट वकिलहरू डा गोपाल सिवाकोटी चिन्तन र फिल साइनरले वर्षौँदेखि दास बनाएर गोर्खाहरूलाई शोषण गरेको अभियोगमा रगप्रसाद पूर्जासमेत ३ जनाको नामबाट बेलायती महारानीलाई विपक्षी बनाइ लन्डनस्थित रोयल कोर्ट अफ जस्टिसमा मुद्दा दर्ता गर्‍यो । विश्वलाई नेपालको परिचय गरायौँ । नेपाल र नेपालीहरूको इज्जत र प्रतिष्ठालाई विश्वसामु उच्च बनायौं ।

नेपालका शासकहरूले ऐतिहासिक रूपमै गल्ती गरेको इतिहासहरूलाई सच्याउन र बेलायती शासकहरूले नेपालमाथि गरेका जघन्य अपराधका षड्यन्त्रहरूको फाइल खोतलेर सार्वजनिक गरी नेपाल गरिब देश होइन, बेलायतले गरिब बनाएको हो भनेर विश्वलाई जानकारी गराउन हामी भूपू सैनिकहरूको आफ्नै करोडौँको खर्चमा म र कानुनी सल्लाहकार गोपाल चिन्तन १० वर्षसम्म बेलायतमा बसेर नेपालका विभिन्न राष्ट्रिय मुद्दाहरू लड्ने क्रममा, बेलायती शासकहरूले नेपालका निरीह शासकहरूलाई आफ्नो कठपुतली बनाएर नेपाली जनताले कल्पनासम्म पनि गर्न नसक्ने गरी नेपालमाथि गरेका घोर आपत्तिजनक षड्यन्त्रका साथै दुवै देशका शासकहरूको मिलेमतोमा नेपाली नागरिक र नेपालको सार्वभौमिकताको अस्तित्व बेलायती शासकलाई सुम्पिदिएर नेपाली नागरिकलाई स्वाभिमानविहीन र सार्वभौमविहीन बनाइदिएको घोर आपत्तिजनक तथा राष्ट्रघाति रहस्यका तथ्यहरू पत्ता लागे ।

बेलायती शासकहरूको योजनाअनुसार, नेपालका स्वार्थी शासकहरूलाई आफ्नो मतियार बनाइ नेपालको विकास हुन नदिने, नेपालमा स्थायी सरकार बनेर सुशासन चलाएर नेपाललाई सम्पन्न र समृद्धशाली बन्न नदिने, नेपालका राजनीतिक पार्टीहरूलाई मजबुत हुन नदिने र बेलायतको विश्वविख्यात सैनिक गुप्तचर आफू देखा नपरी विभिन्न गिरोह परिचालन गरी नेपालको कर्मचारीतन्त्र तहसनहस बनाइदिएर नेपाललाई कमजोर राष्ट्र बनाइराख्ने षड्यन्त्र गरेको तथ्य छर्लंग भयो ।

नेपाल कमजोर राष्ट्र भयो भने बेलायत र बेलायतसँग सम्बन्ध रहेका पश्चिमेली राष्ट्रका गिरोहहरू ढुक्कसँग नेपालमा बसेर एसियाको राजनीतिमा, विशेषगरी चीनको राजनीतिमा चलखेल गर्न नेपाली भूमि अति उपयुक्त देखेको बेलायतले नेपाललाई सँधैभरि कमजोर राष्ट्र बनाइराख्ने षड्यन्त्रमा लागेको हो भन्ने तथ्य पत्ता लाग्यो ।

यसलाई पुष्टि गर्ने आधारभुत प्रमाणहरू यी हुन् –
अदुवा र मसलाको व्यापार गर्न रित्तोहात भारतमा आएर गैरकानुनी रुपमा भारतीय भूमिमा शासन गरिरहेको बेलायतको कम्पनी सरकारले सन् १८१६ मा तथाकथित सुगौली सन्धि गरी नेपालको एकतिहाई भूमि भारतमा गाभिदिएर विशाल नेपाललाई सानो र कमजोर राष्ट्र बनाइदियो । राष्ट्रको कुनै हैसियत नै नभएको एउटा मामुली कम्पनी सरकारले बिनाकारण नेपाल राष्ट्रलाई टुक्रा–टुक्रा पारिदिँदा पनि नेपालका राष्ट्रवादी हौं भन्नेहरुले यस सम्बन्धमा चुइँक्कसम्म बोल्न सकेनन् । यहीबाट नेपालको उधोगति सुरुवात भएको हो, भन्नुमा अतियक्ति नहोला ।

नेपालका श्री ३ राणा शासकले हुकुमी आदेश दिएर बेलायती सेनालाई बेच्ने गरेका नेपाली नागरिकहरूलाई श्री ३ राणा शासनकालको पतन पछिका नेपालका श्री ५ महाराजाले नेपालको संविधान र असंलग्न पराराष्ट्र नीति विपरीत नेपाली सार्वभौम भूमीमा मानव तस्कर गर्ने गैर कानुनी बेलायती सैनिक क्याम्प राख्ने अनुमति दिएर युगौंदेखि सार्वभौमसक्ता सम्पन्न रहँदै आएको नेपालको सार्वभौमिक्ताको अस्तित्व पूर्णरुपले समाप्त पारी दिएर नेपाल आफ्नो सरकारको वैधानिकता माथी नै प्रश्न चिन्ह खडा गरी दिएको छ । सार्वभौम भूमिमा बेलायती सैनिक क्याम्प राख्न दिएर आफ्ना नागरिकलाई बिना तलव बेलायती शासकको स्वार्थमा बहुराष्ट्रिय सेनामा लान पाउने अनुमति दिने नेपालका श्री ५ महाराज कसरी राष्ट्रवादी हुन सक्छन् ?

सार्वभौम भूमि भनेको आफूलाई जन्म दिने आमाभन्दा पनि माथिको धर्तीमाता हो । आफ्नो धर्तीमाताको छातीमाथि टेकेर छिया–छिया पार्नेगरी धूलो उडाउँदै बेलायती सैनिक बुटले कवज खेलिरहेको अवस्थामा सरकारमा बस्नेहरूले कुन नैतिकताको आधारमा आफूलाई सार्वभौम राष्ट्र नेपालको संवैधानिक शासक हौं भन्ने ?

युवाहरूको अभावमा नेपालले केही पनि गर्न नसकोस् भन्ने षड्यन्त्र रची नेपालका तत्कालीन श्री ३ राणा र बेलायतका शासकहरूको बीचमा मानव बेचवबिखनको मौखिक लेनदेन गरेपछि, बेलायती शासकले आफ्ना गल्लाहरूलाई नेपालको गाउँ–गाउँमा पठाए । १४ वर्षका नाबालकदेखि ३९ वर्षसम्मका युवाहरूलाई श्री ३ महाराजाको हुकुम भन्दै विभिन्न डर, धम्की र प्रलोभन देखाएर बिना तलव दासको हैसियतमा बेलायती सेनामा लग्यो । दुबै देशका शासकहरूले अहिलेसम्म नेपाली जनताको आँखामा छारो हालेर गैरकानुनी तथा राष्ट्रघाति पेशालाई निरन्तरता दिइरहेका छन् ।

नेपाली नागरिकहरू बेलायतको वैधानिक सेना हुनको लागि नेपाल बेलायतको उपनिवेश भएको हुनु पर्दछ । यसबाहेक सन्धिसम्झौता गरेर नेपाली नागरिकहरूलाई बेलायती सेनामा लगी युद्ध लड्ने पेसामा संलग्न गराइ तेस्रो राष्ट्रका विरुद्ध कुनै पनि युद्धहरूमा प्रयोग गर्न पाइँदैन । कदाचित् कसैले प्रयोग गरेमा मानवता विरुद्धको युद्ध अपराध हुन्छ । यो विश्वको सर्वमान्य सिद्धान्त हो ।

गैरसैनिक नेपाली नागरिकहरूलाई ब्रिटिश गोर्खा सैनिक भनी विश्व सामु झूट बोलेर प्रथम विश्व युद्धदेखि आजसम्म विश्वका विभिन्न देशहरूमा लगी युद्ध लडाएर बेलायती शासकहरूले मानव व्यापार गरिरहेको तथ्य घामजस्तै छर्लङग छ । विश्वका जुन–जुन देशहरूसँग नेपाली नागरिकहरू बेलायतका बहादुर गोर्खा बनेर युद्ध लडिरहेका छन्, ती सबै देशहरूसँग नेपालको मैत्रीपूर्ण कुटनीतिक सम्बन्ध रहेको छ ।

भारतीय सेनाका नेपालीहरूलाई सन् १९६२ सालमा चीनसँग युद्ध लडाइसकेको छ । अर्को मित्र राष्ट्र पाकिस्तानसँग युद्ध लडिरहेका छन् । फेरि पनि चीन र भारतका बीचमा युद्ध नहोला भन्न सकिने अवस्था छैन । अब पनि नेपालीहरू रोजगारका लागि भनेर भारतीय सेनामा भर्ती भई चीनको विरुद्ध युद्ध लड्न गए भने के चीनले नेपाललाई छिमेकी राष्ट्र भनेर माया गर्ला ? यस्तो संवेदनशील विषयमा नेपाल मूकदर्शक भएर बस्नुको रहस्य के हो ? यही भएर गोर्खा भर्ती नेपाललाई प्यालेस्टाइन बनाउने बेलायती शासकको राजनीतिक षड्यन्त्र हो भन्ने शीर्षक राखेका हौँ ।

विश्व युद्धमा बहादुर कहलिएका गोर्खाहरूको तलब, भत्ता वा पेन्सन केही पनि दिइएको थिएन भन्ने प्रमाणका लागि भीसी पदक पाउने १३ जना नेपालीहरूको आर्मी डकुमेन्ट हेरे स्पष्ट हुन्छ । साथै बेलायती सेनामा गोर्खाहरूलाई कुन हालतमा राखेको रहेछ भन्ने सम्बन्धमा बेलायतको गोर्खा नीति अध्ययन गर्‍यो भने सम्पूर्ण नालीबेली थाहा हुन्छ ।

चीन र जापानको विज्ञान र प्राविधिकको विकास देखेर अत्तालिएका बेलायती शासकलाई राम्रोसँग थाह थियो कि एकदिन नेपालको पहाडमा बस्ने मंगोल नस्लका जातिहरू पनि लेखपढ गर्नेतिर लाग्नेछन् । यी जातिहरूको दिमाग अति तेज हुने भएकाले यिनीहरू विद्वान् र वैज्ञानिक निस्केर नेपालको राज्यसत्ता मंगोल नश्लका जातिहरूको हातमा पुग्ने छ । नेपालको उत्तरतिर पनि यी जातिहरूको बहुलियत भएकाले यी जातिहरू सत्तामा पुगे भने बेलायती शासकहरूको लागि तागाधारी शासकहरू जति अनुकूल हुन्छन्, मंगोल नश्लका जातिहरू नहुने देखेर नेपालको पहाडी भेगबाट यी जातिहरूलाई विस्थापित गर्ने षड्यन्त्र रची बेलायती शासकले गुरूङ, मगर, राई, लिम्बु र तामाङहरूलाई रोजी–रोजी बेलायती सेनामा लगी यी जातिहरूको मौलिक संस्कार संस्कृति पूर्णरुपले समाप्त पारिदियो । गैरहिन्दु मंगोल जातीहरूलाई हिन्दु धर्मावलम्बी बनाइदियो ।

बेलायतले मंगोल जातिहरूमाथि यस्तो षड्यन्त्र नगरेको भए, नेपाली आमाहरूले महावीर पुन जस्ता हजारौं प्राविधिक र डा सन्दुक रुइत जस्ता हजारौं वैज्ञानिकहरू जन्माउने थिइन् । नेपाल अहिले एउटा विकसित राष्ट्रको दाँजोमा पुगिसक्ने थियो । तर बेलायती साम्राज्यवादी शासकहरूले पश्चिमा राष्ट्रहरूको स्वार्थमा नेपालको विकास हुन नदिनकै लागि नेपालमाथि विभिन्न षड्यन्त्रहरू रचे । नत्र नेपाल आज दक्षिण कोरियाको दाँजोमा पुग्ने थियो, अहिलेको जस्तो तन्नम् गरीब राष्ट्र हुने थिएन । बेलायती शासकले नेपालीहरूको भाग्यलाई चकनाचुर पारिदियो । यसको जिम्मा बेलायती शासकले लिनुपर्छ ।

नेपालीहरूका वास्तविक शत्रु सिंहदरबारका निरीह मगन्तेहरू होइनन्, सात समुद्रपारका नेपालीहरूका रक्तपिपासु सैतान जातिवादी बेलायती शासकहरू हुन् । बेलायती शासकले नेपालमाथि गरेका अपराधहरूको फाइल खोजेर बेलायतसँग नेपालले गुमाएको हर हिसाब खोज्ने हिम्मत गर्न सक्दैन भने निमुखा नेपाली जनतालाई भाषण सुनाएर हुनेवाला केही पनि छैन । राष्ट्रियताको सवालमा पत्थर बन्नुपर्छ, आलु होइन ।

नेपालप्रति बेलायती शासकको नियत ठीक भएको भए सन् १९४७ सालमा भारतीय भूमिबाट लखेटिएर उसको देश बेलायत फर्कने समयमा गैरकानुनी रूपमा भारतमा गाभेको नेपालको एकतिहाई भूमि नेपाललाई फर्काइदिनु पर्ने थियो, नेपाली भूमिमा मानव तस्करी गर्ने गैरकानुनी बेलायती सैनिक क्याम्प राख्न हुने थिएन । गोर्खा भर्ती प्रथा पूर्णरुपले बन्द गर्नुपर्ने थियो । नेपाली नागरिकलाई भारतीय सेनामा राखेर नेपालको छिमेकी राष्ट्र चीन पाकिस्तानसँग युद्ध लडाउने काम गर्नु हुने थिएन । तर बेलायती शासकहरूको नेपालप्रतिको उसको नियत ठीक थिएन । त्यसैले उसले केही पनि गरेन । नेपालमाथि यस्तोसम्म गर्न पछि नपर्ने बेलायती साम्राज्यवादी शासक कसरी नेपालको असल मित्र हुन सक्छ ? यस्तो देश बेलायतको संसदीय प्रणालीलाई विश्वको उत्कृष्ट छ भनी व्याख्या गर्ने नेपालका बबुराहरुलाई लाज मान्नुपर्ने हो ।

बेलायती सेनाको लागि नेपाली नागरिकलाई नेपाली भूमिमा नै भर्ती गरेर बेलायतको ऐन कानुन, राजारानीको फोटो र युनियन ज्याक छुन लागि “शपथ” खुवाइ नेपाली नागरिकलाई नेपाली भूमिमा बेलायती नागरिक बनाइ उनीहरूको कमाइ र जवानी नेपाल फर्कन नपर्नेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायती सेनामा निर्यात गरेको दृश्य नहेर्ने नेपालीहरू कमै होलान् । बेलायतको यस्तो रबैयाले गर्दा नेपालको संसद सार्वभौमसक्ता सम्पन्न भन्नुको कुनै अर्थ रहन्छ ?

नेपालका प्रसिद्ध कलाकारहरूमाथि बेलायती प्रशासनको दुर्व्यवहार नेपाली कलाकारहरूमाथिको व्यवहार पनि त्यतिकै आपत्तिजनक छ । दुर्गा परियार र खडकप्रसाद गर्बुजा नेपालका ख्यातिप्राप्त लोक कलाकारहरू हुन । दुर्गा परियार दलित समुदायकी तारा हुन् भने खडकप्रसाद गर्बुजा फरक शारीरिक अवस्थाका मानिस हुन् । दुवै जनाका बाजेहरू बेलायतको सार्वभौमसत्ता र राजमुकुटको रक्षाको लागि विश्वयुद्धमा जीवनको बलिदान गरेका योद्धाहरू हुन् ।

बेलायतवासी नेपालीहरूले आफ्ना मौलिक गीत सुनेर मनोरञ्जन लिने उद्देश्यले दुर्गा परियार र खडकप्रसाद गर्बुजालाई बेलायतमा आमन्त्रण गरे । उनीहरूले बेलायती दूतावासमा शुल्क तिरेर नेपाली राहदानीमा ६ महिनाको भिसा छाप हानेर वैधानिक कागजपत्रसहित दुर्गा परियार १८ फरवरी २०१६ मा बेलायत प्रस्थान गरिन् । तर हिथ्रो विमानस्थलको अध्यागमन विभागले तिमी कलाकार हौ भन्ने विश्वास लागेन भन्दै अति अपमान गर्दै चोरलाई जसरी २४ घण्टा पुलिस नियन्त्रणमा राखी नेपाल फर्काइदियो ।

यसैगरी खडकप्रसाद गर्बुजालाई पनि बेलायतवासी नेपालीहरूबाट निमन्त्रणा भयो । बेलायती दूतावासमा शुल्क तिरी ६ महिनाको भिसा छाप हानेर २० मई २०१७ मा बेलायत प्रस्थान गरे । तर उही अध्यागमन विभागले तिमी खुट्टा टेक्न नसक्ने शारीरिक रुपमा अशक्त व्यक्तिले कार्यक्रम गर्न सक्दैनौ भन्दै अपमान गरी एउटा अशक्त मानवलाई पशुको व्यवहार गर्दै २४ घण्टा पुलिस नियन्त्रणमा राखी नेपाल फर्काइदियो ।

के दुर्गा परियार र खडकप्रसाद गर्बुजा गैरकानुनी रुपमा बेलायत प्रवेश गर्न खोजेका थिए ? के यी दुईजना आतङ्ककारी थिए ? जसका पितापुर्खाहरूले बेलायतको लागि रगतको खोलो बगाए । जीवनको बलिदान दिए । जसका बलिदानले बेलायत सम्पन्न र समृद्धशाली हुँदै विश्वकै एक महाशक्ति राष्ट्र बन्न पुग्यो । तर आज तिनै योद्धाका सन्तानहरूलाई यति नीच स्तरको अपमानपूर्ण व्यवहार किन ?

२१ औं शताब्दीका मानव सभ्यताको युगमा बेलायत जस्तो मुलुकले राष्ट्रियता र जातीयताको आधारमा नेपालीहरूलाई मानव अधिकारको घोर उल्लंङघन गर्दै पशुसरहको दुर्व्यवहार गर्छ भने त्यस समयका अशिक्षित नेपालीहरूलाई केसम्म गरेको रहेनछ भन्ने सम्बन्धमा विश्वसामु प्रमाणको रुपमा दुर्गा परियार र खड्गप्रसाद गर्बुजालाई प्रस्तुत गरेका छौं ।

नेपालीहरूको जन्मभूमि नेपाल हो भने नेपालीहरूको रगत र बलिदानले सम्पन्न र समृद्ध हुँदै विश्वको भिटोयुक्त शक्तिमा पुगेको बेलायत नेपालीहरूको कर्मभूमि हो । बेलायतको माटोसँग नेपालीहरूको रगतको सम्बन्ध रहेको छ । बेलायती अदालतमा गेसोका वकिलहरुले यही व्याख्या गरेर मुद्धा जितेपछि मात्र नेपालमा दुःख पाएर बसेका भूपूसैनिकहरु र तिनका परिवारहरु बेलायत गएर गोरासरह सुविधा पाएका हुन् ।

त्यसकारण बेलायती शासकहरूले उसलाई मन नपरेका मान्छे मार्नको लागि मात्र गोर्खाहरूको छाती नापेर बेलायती सेनामा लाने होइन । बेलायत गएर काम गरेर खान पाउनु नेपालीहरूको नैसर्गिक अधिकार हो । त्यसैले बेलायत गएर श्रम गरेर खान्छु भन्ने नेपालीहरूलाई बेलायत जान दिन पर्दछ । यो हाम्रो माग होइन यो नेपालीहरूको कर्मसिद्ध अधिकार हो ।

बेलायती प्रशासनले आफ्नो कार्यक्रम प्रस्तुत गर्न गएका प्रसिद्ध कलाकारहरूमाथि जुन किसिमले अपमान गर्यो त्यसको लागि हिथ्रो अध्यागमन विभागले माफी माग्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्दछ । नेपाली कलाकारहरू माथि फेरी पनि यस्तो गल्ती नदोहोरियोस, किन भने बेलायतको राजकिय कोषमा बेलायती शाशकहरूले भन्दा नेपालीहरूले सयौं गुणा बढी कर तिरेका छन् ।

नेपाली नागरिकहरूलाई भारतीय सेनामा भर्ती गरी नेपालका छिमेकीहरू चीन र पाकिस्तानसँग युद्ध लडाई नेपाललाई पूर्वको प्यालेष्टाइन बनाएर त्यसैको बहानामा बेलायती शासकहरू नेपालमा बसेर एसियाको राजनीतिमा चलखेल गर्ने षड्यन्त्र रच्यो । शान्तिका अग्रदूत बुद्ध जन्मेको देश नेपाल विश्वबाटै सदाका लागि शान्तिक्षेत्र घोषित हुनुपर्नेमा त्यस्तो देशका नागरिकहरूलाई नेपाल र बेलायती शासकहरूको स्वार्थका लागी संधैभरि कहीं न कहीं हरेक दिन युद्ध लडाइरहेका छन् । यो बुद्धभूमि नेपालकै अपमान हो । यस्तो विरोधाभासपूर्ण बेलायती व्यवहारप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं । यस्तो संवेदनशील विषयमा नेपाल चुं सम्म बोल्न नसक्नुको पछाडि के रहस्य लुकेको छ ?

नेपाली भूमिमा बेलायती सैनिक क्याम्प नै खोलेर एउटै देशका नेपाली नागरिकहरूमध्ये केहीलाई भारतीय सेना, केहीलाई बेलायती सेना, केहीलाई सिंगापुर पुलिस, र केहीलाई ब्रुनाई सेक्युरिटी गार्डसमेत गरी चार राष्ट्रका सैनिकहरू बनाएर युद्ध लड्ने पेशामा विभाजन गरिदिएको छ । विश्वको नजरमा नेपालीहरूलाई रोजगारका लागि आफ्नो मातृभूमि त्याग्न पछि नपर्ने अस्तित्वविहीन राष्ट्रका नैतिकताविहीन जत्था बनाइदिएको छ । सिंहदरबारका मगन्ते शासकहरुको स्वार्थका लागि नेपालीहरुले विश्व सामु यस्तो अपमान व्यहौन बाध्य भएका छन् ।

नेपाल र बेलायती शासकहरुको स्वार्थमा विश्वयुद्धमा होमेर जातीय नरसंहार गरिएका हजारौं नेपालीहरूको सम्बन्धमा आफ्ना नागरिकहरू बेची पठाउने नेपाल सरकारले खोज तलाससम्म पनि गर्न सकेन । मृतकका परिवारहरूलाई मानवीय क्षतिपूर्ति दिनुपर्ने डरले बेलायती शासकहरूले अहिलेसम्म मरे बाँचेको सूचनासम्म पनि दिएका छैनन् । यसले गर्दा लाखौं नेपालीहरूले आफ्नो जातीय संस्कार अनुसार काजकिरिया सम्म गर्न पनि पाएका छैनन् । नेपालीहरूका लागि यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्दछ ? विश्व शान्तिका प्रतिक महान् दार्शनिक गौतम बुद्धको देशका नेपाली नागरिकहरू बेलयातका लागि विश्वभर युद्ध लड़ने खेताला भएका छन् । यस्तो पेशालाई नेपालीहरुले गौरव मानिरहेका छन् ।

साल्मेडाँडास्थित गोर्खा समाधिस्थलका सम्बन्धमा
बिनाकारण युद्धमा होमि जातीए नर संहार गरी अहिलेसम्म गुपचुपमा राखिएका ८० हजारभन्दा बढी आफ्ना नागरिकहरूको सम्बन्धमा नेपाल सरकारले खोज्न नसकेको बेलायती शासकहरूले अहिलेसम्म लुकाई राखेको महाअपराधका फाइललाई प्रमाणको लागि विश्वसामु सार्वजनिक गरेर बेलायतसँग नेपालको पाई–पाई हिसाब खोज्नकै लागि हामी राज्यबाट बेचिएका पीडित भूपू सैनिकहरूको आफ्नै करोडौंको लगानीमा स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिकाको साल्मेडाँडामा विश्वचर्चित बहुउद्देश्यीय परियोजना गोर्खा समाधिस्थल निर्माण गरिरहेका थियौँ।

उक्त गोर्खा समाधिस्थलसहितको गोर्खा स्मारक ट्रष्ट नेपालका वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालज्यूको गुरु योजनाअनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सम्पन्न गर्न दियो भने समाधी उद्घाटनमा 'बेलायतका प्रधानमन्त्री र राजपरिवारका सदस्यहरु नेपाल आउनै पर्ने हुन्छ । युद्धमा मारिएका हजारौं नेपालीहरूको क्षतिपूर्ति दिन्छु भनेर बोल्नु पर्ने हुन्छ । दिन नसके नेपाली जनतासमक्ष माफि माग्नु पर्ने हुन्छ' गेसोलाई यती मात्र गर्न दिएको भए नेपालीहरूको ईज्जत र प्रतिष्ठा विश्वको उचाईमा पुग्ने थियो ।

साथै विश्वयुद्धमा बहादुरू कहलिएका गोर्खाहरू नेपालबाट मानव तस्कर गरी लगिएका गैरसैनिक नेपाली नागरिकहरू थिए भन्ने रहस्य खुल्ने थियो । नेपाली नागरिकहरूले बेलायतका लागि युद्ध लडिदिनु पर्ने कारण के थियो ? यति धेरै नेपालीहरू बेलायतको लागि मारिनुपर्ने कारण के थियो भन्ने सम्बन्धमा विश्वको चासोको विषय बनेर बेलायत संकटमा फस्ने थियो । बेलायतलाई संकटमा फस्न नदिनका लागि यस बहुउद्देश्यीय परियोजनालाई इन्जीनियर रिमालको डिजाईन अनुसार सम्पन्न हुन नदिन बेलायती शासकको ठाडो आदेशमा नेपाल सरकारले डाँका शैलीमा योजना माथि हस्तक्षेप गरी शहरी विकास मन्त्रालयमा कीर्ते निवेदन दर्ता गरी यसैको आधारमा पटक पटक गरि रु ८ करोड निकासा गरी ठेकेदारलाई जिम्मा दिएर गुरुयोजना विपरीत प्रविधि बिनाको गुणस्तरहीन निर्माण गरी विश्वचर्चित परियोजनालाई नेपाल सरकारले औचित्यहीन बनाई दिएर राज्य कोष र भूपू सैनिकहरूको करोडौको रकमलाई खरानी बनाई दिएर नेपाल सरकार बेलायतको आज्ञाकारी बहादुर बनेका छन् ।

यो गोर्खा समाधिस्थल भूपू सैनिकहरूको लगानीमा इन्जिनियर शंकरनाथ रिमालको गुरु योजनाअनुसार गेसोको नेतृत्वलाई सम्पन्न गर्न दिएको भए विश्वका पर्यटकहरूको उल्लेखनिय वृद्धि हुने थियो । सयौँ युवा युवतीहरूले रोजगार पाउने थिए, नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने थियो । यसका साथै बेलायतले विगत २१० वर्षदेखि नेपालमाथि गरेको घोर आपत्तिजनक अपराधको रहस्य तथा नेपाली नागरिकहरूलाई गोर्खा बनाएर शोषण गरेको अन्याय, अत्याचार र विभेद गरेको विषवस्तुमा केन्द्रित एक अनुपम विश्व संग्रहालय हुने थियो ।

यसमा गोर्खा समाधिस्थलका साथै बहुजातीय संग्रहालय, बहुजातीय सांस्कृतिक ग्राम, गोर्खा टावर र मोनो रेल समेत हुनेछन् । एकमुष्टमा यस गोर्खा स्मृति पार्कले बेलायतले नेपाल राष्ट्र र नेपाली नागरिकहरूमाथि गरेका सारा ज्यादति र अपराधहरूको हरेक दिन पोल खुल्ने थियो । यही पोल खुल्ने भएकोले बेलायती शासकको ठाडो आदेशमा नेपाल सरकारले । हामी भूपू सैनिकहरूलाई यो काम सम्पन्न गर्न नदिएर बेलायित साम्राज्यवादीलाई ठूलो गुन लगाइदिएका छन् । 

नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भने २००७ सालपछि बेलायती सैनिक शासकले धरानको घोपा क्याप, भैरहवास्थित पक्लीहवा क्याम्प, गण्डकी प्रदेशको पोखरा र जाउलाखेलमा ब्रिटिश सैनिक हेडक्वाटर राखे वापत नेपालले ब्रिटिशसँग वर्षेणी करोडौँ राजश्व लिनुपर्ने थियो । तर, नेपाल सरकारले ब्रिटिश सरकारसँग एक पैसा पनि राजश्व लिन नसक्नुको कारण के हो रु यस सम्बन्धमा सत्य तथ्य के हो जनसमक्ष सार्वजनिक नगरेसम्म विदेशमा श्रम गरेर आएका ती निमुखा नेपालीहरुले नेपाल सरकारलाई किन कर तिर्ने ?

जबसम्म नेपाली भूमिमा बेलायती सैनिक शासक बसेर नेपाली नागरिकहरूलाई बहुराष्ट्रिय सेनामा पठाई नेपालका छिमेकी राष्ट्र चीन र पाकिस्तान लगाएतका विश्वमा नेपालसँग मैत्रीपूर्ण कुटनीतिक सम्बन्ध रहेका मित्रराष्ट्रहरूका विरुद्ध युद्ध लड्न पठाउने महाअपराधी कार्यलाई रोक्न सक्दैन । जबसम्म बुद्ध जन्मेको देशका जनतालाई बेलायती साम्राज्यवादी सेनाको खेताला बनाएर युद्ध लड्न पठाउने जस्तो मानवता विरुद्धको अपराधलाइ रोक्न सकिँदैन, जबसम्म नेपाललाई बेलायती साम्राज्यवादीको चङ्गुलबाट मुक्त बनाएर कलंकरहित सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल बनाउन सकिन्न । तबसम्म नेपाली जनताले जुनसुकै राजनीति पार्टीलाई जतिसुकै शक्तिशाली बनाएर सरकारमा पठाए तापनि वा राजनीतिक पार्टीहरूको नीति र सिद्धान्तले सुशासन चलाएर नेपालको विकास गर्न बेलायतको विश्वविख्यात सैनिक गुप्तचरले दिँदैन । नेपाल वास्तविक अर्थमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र पनि हुन सक्दैन ।

२००७ सालपछि आजसम्म नेपालमा जेजस्ता अकल्पनीय राजनीतिक घटना परिघटनाहरू घटे, बहुमत र दुई तिहाइको सरकार उथलपुथल भए, चाहे त्यो २०१७ सालको घटना होस्, चाहे त्यो दासढुंगा हत्याकाण्ड होस् वा दरवार हत्याकाण्ड, यसका पछाडि आफू देखा नपरी ब्रिटिशको विश्वविख्यात सैनिक जासुसको हात छ भन्न हामीलाई रति पनि हिच्किच्याहट हुँदैन । गौरवका साथ विश्वसामु शिर ठाडो गरेर बोल्छौँ । बेलायतले नेपालका राष्ट्रवादी नेताहरू देखी सहँदैन । माथि मैले जे कुराहरू उठाएको छु, बेलायती सेनामा छँदा र १० वर्षसम्म बेलायतमा बसेर नेपालको राष्ट्रिय मुद्दा लड्दा नेपाल माथि बेलायति शासकहरुले गरेका महाअपराधको षड्यन्त्रहरू मैले जे बुझेँ, जे थाहा पाएँ त्यसको आधारमा नेपाली जनतासमक्ष सार्वजनिक गर्न मेरो दायित्व र कर्तव्य हो भन्ठानेर नेपाली जनतासमक्ष सार्वजनिक गरेको हुँ ।

नेपाली माटोबाट बेलायती बुटलाई कसरी हटाउने ? यो त्यति सजिलो विषय छैन र सजिलैसँग हटाउन पनि पाइँदैन । किनभने बेलायती शासकले नेपाल र नेपाली जनतालाई सयौँ वर्षसम्म टाउको उठाउन नसक्ने गरी दलदलमा फसाइदिएको छ । बेलायतको लागि नेपालले सर्वस्व गुमाइसकेको छ, अब गुमाउन बाँकी केही पनि छैन । त्यसकारण नेपाली भूमिबाट बेलायती सैनिक शासकलाई हटाउनुभन्दा पहिले माथि उठाइएका समस्याहरूको समाधान गर्नुपर्दछ । विगत २१० वर्षदेखि आजसम्म बेलायतको कारणले गर्दा नेपालले गुमाउनु परेको पाइ–पाइको हिसाब खोज्नु पर्दछ ।

यो विषय नेपालको राष्ट्र, राष्ट्रियता राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित रहेको अति पेचिलो विषय हो । यो विषय एक सार्वभौम राष्ट्रका स्वतन्त्र नेपाली नागरिकलाई २१० बर्षसम्म बिनातलव दासको हैसियतमा युद्धमा होमी १४ वर्षका नाबालकदेखि हजारौँ नेपालीहरूको जातीय नरसंहार गरी अहिलेसम्म लुकाएर राखेको अति गम्भीर विषय हो ।

समस्या समाधान गर्नको लागि नेपाल र बेलायतका सम्माननीय पूर्व प्रधानमन्त्रीज्यूहरूको अध्यक्षतामा नेपाल र बेलायतका सेवा निवृत माननीय प्रधान न्यायाधीशज्यूहरू तथा नेपाल र बेलायतका अवकाश प्राप्त प्रधान सेनापतिज्यूहरूको सर्वशक्तिमान समिति गठन गर्नु पर्दछ ।

यो समितिले माथि उठाएका विषयहरूको अध्ययन गरी निम्न विषयहरूको प्रतिवेदन तयार गर्न गैरकानुनी रुपमा भारतीय भूमिमा बसेर शासन गरिरहेको ब्रिटिशको एउटा मामुली कम्पनी सरकारले १८१६ मा तथाकथित सुगौली सन्धी गरी बिनाकारण नेपालको एकतिहाई भूमि भारतमा गाभी दिएको छ । यसको वैधानिक आधार के हो ?

सार्वभौम राष्ट्रका स्वतन्त्र नेपाली नागरिकलाई नेपाल र बेलायत सरकारको बीचमा सन्धी सम्झौता नै नगरी बिना तलब दासको हैसियतमा बेलायती सेनामा लगी प्रथम विश्व युद्धदेखि आजसम्म विश्वको विभिन्न देशहरूमा लगी युद्ध लडाएर बेलायती शासकहरूले आफ्नो स्वार्थ पूर्ति गरिरहेको छ । यी नेपालीहरूको विश्वमा युद्ध लड्ने सैनिक हैसियत के हो ? यसको स्पष्ट धारणा नआएसम्म बेलायती सेनाका नेपालीहरुलाई कुनै पनि युद्धहरुमा प्रयोग गर्न पाइँदैन ।

३० सेक्टेम्भर २००८ मा गेसोले बेलायती अदालतबाट मुद्दा जितेपछि मात्र सेवामा रहेका गोर्खाहरूलाई बेलायती सेनामा समायोजन गरी समान अधिकार दिन शुरु गरेको हो । त्यो भन्दा पुर्वका गोखराहरूलाई बेलायती सेनाले पाउने तलव भत्ता वा पेन्सन केही पनि नदिनुको कारण के हो ?

प्रथम र दोश्रो विश्वयुद्धदेखि आजसम्म ८० हजार भन्दा बढी नेपालीहरूको जातिय नरसंहार गरिएको छ भने हजारौको संख्यामा घाइते भएका छन । बिना कारण युद्धमा होमी जातिय नरसंहार गरिएका नेपालीहरूलाई मानवीय क्षतिपूर्ति दिनुपर्छ कि पदैन ? दिन नपर्ने भए कारण के हो ?

युद्धहरूमा नरसंहार गरी अहिलेसम्म बेखबर पारिएका हजारौँ नेपालीहरूको चिर शान्ति तथा सम्झनामा इन्जिनियरको डिजाइनमा भूपू सैनीकहरूको करोडौँको लगानीमा स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका साल्मेडाँडामा निर्माण गरिरहेको एैतिहासिक गोर्खा समादी माथि नेपाल र बेलायत सरकारको हस्तक्षेप किन ?

नेपाली भूमिमा बेलायती सैनिक क्याम्प राखेर नेपाली नागरिकलाई बहुराष्ट्रिय सेनामा पठाई नेपालको छिमेकी राष्ट्र चीन र पाकिस्तान लगायत विश्वमा नेपालसँग मैत्रिपूर्ण कूटनीतिक सम्बन्ध रहेका राष्ट्रहरूको विरुद्ध बेलायतको स्वार्थमा नेपालीहरूलाई युद्ध लड्न पठाउने यो नेपाल सरकारको मित्रराष्ट्रहरूप्रतिको आफ्नो नीति हो कि बेलायती सरकारको नीति हो ? देश र जनतालाई धरापमा राखेर कुन नैतिकताको आधारमा सरकारमा बसेको हो ?

बेलायतले वर्षेनी २५० जना नेपालीहरूलाई बेलायत नागरिक बनाएर उसको सेनामा लान्छ । २५० युवाहरू लानाको लागि नेपाल राज्यभरमा ५० हजार युवाहरूलाई डोको र ढुङ्गा बोकाएर ६ महिनादेखि तालिम गराउँछ । अन्तमा २५० जनालाई मात्र छनौट गरेर बाँकी सबैलाई फेल गराउँछ । बेलायती सेनामा जाने सपना देखेर आफ्नो पढाइ छाडी ६ महिनासम्म डोको बोकेर तालिम गरेका ४७ हजार ५०० युवाहरू बेलायती सेनामा जाना नपाएपछि उनीहरूको कलिलो मस्तिष्कमा कस्तो छाप परेको होला ? भाषण गर्ने नेताजीहरुलाई यस्तो कुरा थाहा छ कि छैन?

तयार पारेको प्रतिवेदनलाई ग्रहण गरी नेपाल र संयुक्त अधिराज्यका सम्माननीय प्रधानमन्त्रीज्यूहरू, सम्माननीय प्रधान न्यायाधीशज्यूहरू, तथा प्रधान सेनापतिज्यूहरूको संयुक्त बैठक बसी एक अर्काको अस्तित्वको सम्मान गर्दै समानताको सिद्धान्तका आधारमा सदाका लागि समस्या टुंगो लगाउनु पर्दछ ।

यो कुनै वर्ग वा जाति विशेषको सवाल होइन । सिंगो नेपालको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको सवाल तथा स्वाभिमानी नेपालीहरूको सवाल भएकोले स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरू एकजुट हुनै पर्दछ ।

अन्त्यमा नेपाल र बेलायतका शासकहरूमा विनम्रताका साथ जोड दिँदै इतिहास साक्षी छ तपाईंहरूले नेपाल र नेपाली जनता माथि गर्न नहुने महाअपराध गरेकै हो । यसलाई सच्याउनका लागि समिति गठन गर्नुपर्दछ । यो बेवकुफ लाहुरेहरूको वकवास हो भनेर समिति गठन नगरेमा नेपाल र बेलायतका सरकारहरूले कल्पना सम्म पनि नगरेको विश्व चर्चित कार्यक्रम घोषणा गर्ने छौँ । यो नेपाल र बेलायतका शासकहरूलाई धम्की होइन चुनौती हो।

किनभने नेपाल र बेलायतका शाशकहरूले निर्दोष नेपाली जनतामाथि गरेको अक्षम्य महाअपराधहरूका फेहरिस्त संक्षिप्तमा प्रस्तुत गरेको छु :

बिनाकारण बिना तलब बेलायतको सार्वभौम सत्ता, राजमुकुटको रक्षाका लागि विश्वयुद्धमा होम्न लगिएका आफ्ना छोराहरू फर्केर आउने आशामा प्रतिक्षा गर्दा गर्दा मृत्यु भएर छोराको अभावमा मृत्यु हुने समयमा मुखमा पानीसम्म हालिदिने कोही भएन । दाहसंस्कारसम्म गरिदिने कोही पनि नपाएर काँचो बायुको रुपमा अलौकिक भएर भौतरीरहेका हजारौं नेपाली आमाहरूको अधरो सपनाको आत्माले हामीलाई दिएको आदेश हो ।

युद्धमा लगिएका आफ्ना प्यारो श्रीमान फर्केर आउने आशामा प्रतिक्षा गर्दा गर्दा सिन्दुर पुछ्न बाध्य भएका हातको चुरा फुटाएर, घाँटीको पोते निकाल्न बाध्य भएका हजारौं अभागी नेपाली चेलीहरूको अधुरो सपनाको आत्माले हामीलाई दिएको आदेश हो ।

बिना तलब बेलायतको सार्वभौमसत्ता, राजमुकुटको रक्षा गर्न विश्व युद्ध लड्दा गोली लागेर जमिनमा लडिरहेको अवस्थामा मलाई मेरो आमा बाबुसँग भेट्न मन लागेको छ । मलाई मेरी प्यारी श्रीमती र छोरा छोरीहरूको मुख हेर्न मन लागेको छ । मलाइ यो विरानो भूमिमा एक्लै छाडेर नजाउ मेरा साथीहरू भन्दै भाव विभोर हुँदै, रुँदै पानी पानी भन्दा भन्दा प्राण त्यागेका ति हजारौं अभागी लाहुरेहरूको अधुरो सपनाको आत्माले हामीलाई दिएको आदेश हो । नेपाल र बेलायती शासकहरुले नेपाली जनतामाथि गरेका यस्ता अक्षम्य महाअपराधलाई एति सजिलोसँग भुल्न सक्ने कुरा हो ?

यो गोर्खा लाहुरेहरूले लगाएको फतुर होइन, यो नेताजीको बकवास पनि होइन, महाराजाहरूसमक्ष टक्याएको बिन्तीपत्र पनि होइन, यो त नेपाली धर्तिमाताले आफ्ना सपुतहरूलाई दिएको आदेश दुइ देशका शासकहरूलाई सुनाएको मात्र हो । धर्तिमाताको आदेशको शिरोधार्य गर्ने हाम्रो कर्तव्य हो ।