शीर्षकहरू

बोर्डको अध्यक्षको जिम्मेवारी महेश बरालले पाए

बोर्डको अध्यक्षको जिम्मेवारी महेश बरालले पाए


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव महेश बरालले पाएका छन् । साउन ३ गतेदेखि बरालले बोर्ड अध्यक्षको जिम्मेवारी पाएका हुन । नेपाल सरकार अर्थमन्त्रालय (मन्त्रिस्तरीय) को निर्णय अनुसार बराल बोर्डको सञ्चालक सदस्यमा मनोनित भएका हुन । 


धितोपत्र सम्बन्धी ऐन , २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रित्त भएमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतले काम गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम हाल बोर्ड अध्यक्ष पद रित्त रहेको अवस्थामा अर्थमन्त्रालयका प्रतिनिधिले बोर्ड अध्यक्षको जिम्मेवारी पाएका हुन । नवनियुक्त अध्यक्ष साउन ३ गते अर्थमन्त्री बिष्णु प्रसाद पौडेल समक्ष बोर्ड अध्यक्षको पद तथा गोपनियताको सपथ लिई सोही दिनदेखि जिम्मेवारी सम्हालेको जानकारी बोर्डले दिएको छ ।

नवनियुक्त अध्यक्ष बराल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रुपमा समेत कार्यरत छन् । अब उनले उक्त जिम्मेवारीसागै बोर्ड अध्यक्षको जिम्मेवारी समेत पुरा गर्नेछन् । यस अघि अर्थमन्त्रालयको तर्फबाट बोर्ड सञ्चालकमा सहसचिव नरेन्द्र कुमार रानाको प्रतिनिधित्व रहेको थियो । गत जेठ ८ गते रानाले बोर्डको अध्यक्षको जिम्मेवारी पाएका थिए । 

तत्कालित अर्थमन्त्री वर्षमान पुनले बोर्डको अध्यक्षको जिम्मेवारी वैशाख १ गतेदेखि पुरा गर्दै आएका अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्यालाई हटाएर रानालाई नियुक्त गरेका थिए । बोड सञ्चालकमा प्रतिनिधि नियुक्त भएको एक महिना पनि नवित्दै अर्थमन्त्री पौडेलले सहसचिव रानालाई हटाएका हुन । 

बिहीवार बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष बरालले सूचीकृत संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन , बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिबृद्धि, बजार विकास विस्तार र स्थायित्वमा जोड दिदैैं तोकिए बमोजिम जिम्मेवारी पुरा गर्न सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बोर्ड अध्यक्ष पद गत पुस २१ गतेदेखि रित्त रहेको छ । अध्यक्ष नियुक्ती प्रक्रिया अन्योल बनिरहेको अवस्थामा अर्थमन्त्रालयले नेतृत्व गर्ने जिम्मेवारीमा पटक पटक हेरफेर गरिरहेको छ ।