शीर्षकहरू

गत आवमा काम खोज्दै ७ लाख ४१ हजार नेपाली विदेश गए, कुन देशमा कति ?

गत आवमा काम खोज्दै ७ लाख ४१ हजार नेपाली विदेश गए, कुन देशमा कति ?

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या  करिब ४ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार बिभागबाट प्राप्त गत आवको तथ्यांकले यस्तो देखाएको हो । 

अघिल्लो आव २०७९–८० मा ७ लाख ७१ हजर ३२७ जना नेपाली कामदार बैदेशिक रोजगारीमा गएका थिए, जुन बार्षिक रुपमा हालसम्मकै उच्च पनि हो । तर, गत आवमा त्यो ७ लाख ४१ हजार २९७ मा सिमित भएको छ । त्यसमा ४ लाख ६० हजार १०२ जना नयाँ अर्थात् पहिलो पटक श्रम स्वीकृती लिएर विदेशी गएका हुन् । बाँकी २ लाख ८१ हजार १९५ जनाले भने पुरानै श्रम स्वीकृत नविकरण गरेका हुन् । 

गत आवमा वैदेशिक रोजगारीमा जानेमा ६ लाख ६१ हजार १२५ जना पुरुष र ८० हजार १७२ जना महिला नेपाली कामदार छन् । पुरुषतर्फ ४ लाख ५४५ जना र महिला तर्फ ५९ हजार ५५७ जनाले नयाँ श्रम स्वकिृत लिएको तथ्यांकमा उल्लेख छ । 

विशेषगरि मलेसियाले आप्रवासी श्रमिक लैजान बन्द गरेपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटेको बताइन्छ । यस्तै, पछिल्लो समय युरोपीयन मुलुकबाट आउने कामदारको माग पनि घटेको छ । त्यसले गर्दा पनि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या कम भएको विभागका अधिकारीहरु बताउँछन् । 

गत आवमा १४९ देशमा नेपालीहरु काम गर्न गएको देखिन्छ । त्यसमा सबै भन्दा धेरै युएईमा गएको देखिन्छ । उक्त देशमा १ लाख ९३ हजार ४३८ जना नेपाली रोजगारी लागि गएका छन् । यसैगरि दोस्रो नम्बरमा भने साउदी अरब रहेको छ । उक्त देशमा गत आवमा १ लाख ४१ हजार ५०२ जना नेपाली रोजगारको लागि गएका छन् । तेस्रो नम्बरमा भने कतार रहेको छ । गत आवमा त्यहाँ एक लाख ३४ हजार ६६९ जनो नेपाली रोजगारीको लागि गएका छन् । 

यसैगरी मलेसियामा १ लाख तीन हजार ४४२, कुवेतमा ४० हजार ३६८, कोरसियामा १५ हजार ३६४, रोमनियामा १५ हजार २१, जापानमा १३ हाजर ८६४ र कोरियामा १३ हजार २६ जना नेपाली रोजगारीमा गएका छन् ।  यी बाहेक १४० देशमा पनि नेपालीहरु रोजगारीका लागि गएका छन् ।

समिक्षा आवमा जेठमा सबै भन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा लागि गएका छन् । उक्त महिनामा ७२ हजार ८६१ नेपाली कामदार वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाउछ । समिक्षा अवधिको वर्ष पहिलो महिना साउनमा ५५ हजार ५७५ नेपाली वैदेशिक रोजगारमा गएको देखिन्छ । यसैगरि, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघमा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

यसैगरि फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, बैशाखमा ७० हजार ६३७, जेठ ७२ हजार ८६१  र असार ५८ जहार ७३६ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । नेपालमा पर्याप्तमा मात्रामा रोजगारीको अवसर छैन । त्यसले गर्दा बर्षेनी लाखौ नेपालीले वैदेशिक रोजगारीमा जान बाध्यतय छ । त्यहाँ कमाएको पैसा उनीहरुले रेमिट्यान्स मार्फत पठाउछन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको ११ महिनामा नेपालमा १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । असार मसान्तसम्मको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छैन । रेमिट्यान्सबाट आउने पैसाले सम्बन्धीत परिवारको आर्थिका विकासमा सहयोग पुगेको छ । साथै, नेपालमा विदेशी मुद्रा आर्जन पनि बढाएको छ । त्यसले शोधनान्तर स्थिती सन्तुलनमा ल्याउने र विदेशी मुद्रा सञ्चितीमा पनि राम्रो योगदान पुर्याएको छ ।