शीर्षकहरू

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ आजदेखि विक्री खुला

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ आजदेखि विक्री खुला

काठमाडौं । शुक्रवारदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गरेको छ । बोर्डबाट असार २३ गते एफपीओ निष्कासन गर्न अनुमति पाएको सूर्योदय वोमी लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँमै एफपीओ निष्कासन गरेको हो । कम्पनीले २०८० साल भदौ १८ गते ४६ हजार ७३० कित्ता एफपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गर्न लागेको हो । 

साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जरपछि सूर्योदय वोमी लघुवित्तवित्तीय संस्थाको रुपमा सञ्चालनमा रहेका छन् । कम्पनीको एफपीओ खरीदका लागि साउन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन १८ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ ।  लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै कम्पनीको एफपीओ खरीदका लागिआवेदन दिन सक्नेछन् । 

विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट एफपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीले एफपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनी ऐन, २०६३ बमोजिम स्थापित यो कम्पनी २०६८ साल जेठ २६ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम २०६८ साल फागुन २५ गते नेपाल राष्ट्र बैंकबाट कम्पनीले वित्तीय कारोबारका लागि अनुमति पाएको थियो । कम्पनीको केन्द्रिय कार्यालय बनेपा १३, साँगा, काभ्रेपलाञ्चोकमा छ । हाल कम्पनीले ५५ जिल्लामा १९२ ओटा शाखा कार्यालयमार्फत १ लाख ८१ हजारभन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पुरा गरी २०७८ साल चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गरेका थिए ।
अधिकृत पूँजी १ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँभन्दा बढी रहेको छ । हाल ९१ करोड ७ लाख ८२ हजार रूपैयाँभन्दा बढी चुक्तापूँजी कायम रहेको कम्पनीले एफपीओ निष्कासन तथा बाँडफाँटपछि ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँभन्दा बढी चुक्तापूँजी कायम गर्नेछ । एफपीओपछि कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम हुनेछ । हाल कम्पनीमा संस्थापतर्फ ७० दशमलव ३६ प्रतिशत रसर्वसाधारण तर्फ २९ दशमलव ६४ प्रतिशत शेयर स्वामित्व रहेको छ । एफपीओ विक्रीबाट संकलित पूँजी कम्पनीले व्यावसायिक प्रयोजनका लागि उपयोग गर्नेछ । कम्पनीले २६ लाख ७२ हजार रूपैयाँभन्दा बढी रकम विपन्न बर्गमा कर्जा लगानी र २० लाख रूपैयाँभन्दा बढी रकम तरलता व्यवस्थापनमा उपयोग गर्ने बताएको छ ।

वास्तविक वित्तीय विवरणलाई हेर्दा कम्पनी गत आर्थिक वर्ष ०७९÷८० सम्म १५ करोड ७६ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कम्पनीको सञ्चित नाफा बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष ०७८÷७९ सम्म कम्पनीको सञ्चित नाफा १२ करोड ८२ लाख रूपैयाँभन्दा बढी रहेको थियो । 

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीले १७ करोड ५५ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा कायम भएको जानकारी दिएको छ । चालू आर्थिक वर्ष ०८०÷८१ सम्म कम्पनीले २२ करोड ९५ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १५४ रूपैयाँ ८६ पैसा छ ।चालू आर्थिक वर्षभित्र प्रतिशेयर आम्दानी ८ रूपैयाा ९८ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रूपैयाँ ६३ पैसा कायम गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।

आईपीओको सम्बन्धमा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज धितोपत्र दोस्रो बजार सञ्चालकले पहिलो कारोबारका लागि तोक्ने गर्दछ । एफपीओ सूचीकृत पछिको कारोबारका लागि भने कुनै पनि मूल्य निर्धारण नहुने धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । एफपीओ मूल्य हाल कम्पनीको कारोबारमूल्यनै निर्धारण हुने जानकारी नेप्सेले दिएको हो । कम्पनीको एफपीओ सूचीकृत हुँदाको समयमा कायम कम्पनीको शेयरमूल्यमै एफपीओ कारोबारमा आउनेछ ।