शीर्षकहरू

मौद्रिक नीति कठोर नहुने प्रधानमन्त्रीको संकेत

मौद्रिक नीति कठोर नहुने प्रधानमन्त्रीको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताएका छन् । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको प्रस्ट पारे । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको बताउँदै भने, “म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।”

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको बताए । “विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो, म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन,” प्रधानमन्त्री ओलीले भने, “देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ, त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।”

नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति कठोर नहुने सङ्केत गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुने स्पष्ट पारे ।